पोखरा, ८ जेठ – पोखरा–१५ मा रहेको थ्रिएन्जल्स बालगृहबाट हराएका दीनेश बादी सोमबार काठमाण्डौंमा फेला परेका छन् । कैलाली घर भई हाल थ्रिएन्जल्स स्कूलमा कक्षा सातमा पढ्दै आएका बादी गएको वैशाख १४ गते विद्यालयबाट बेपत्ता भएका थिए ।
उनी हराएको उजुरीपछि विद्यालय र वडा प्रहरी कार्यालय रामबजारको टोलीले ब्यापक खोजी गरेको थियो ।२०६८ सालदेखि बालगृहमा बस्दै आएका आफ्ना छोरा हराएपछि खोजी गरिदिन उनकी आमाले प्रहरी गुहारेकी थिइन् । प्रहरीले बादीको खोजीको लागि रामबजारका प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा ७ सदस्यीय टोली गठन गरेको थियो । प्रहरीले बादी जान सक्ने सम्भावित सबै ठाउँमा खोजे पनि लामो समयसम्म उनी फेला परेनन् । बालगृहबाट निस्केका उनलाई खोज्दै हिँडेको टोलीले अन्तिममा उनलाई काठमाण्डौंमा भेटेको हो । निम्नबर्गीय परिवारका बादीलाई विद्यालयले निःशुल्क पढाउने व्यवस्था गरेको थियो ।





