पोखरा,१४ जेठ – नेपाल पत्रकार गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल थमन महेश स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको तथा हाल प्रेस सेण्टरले संचालन गरेको सो पुरस्कार पत्रकार कृष्णसेन इच्छुकको स्मृति दिवसको अवसरमा पारेर आइतबार उनलाई पुरस्कारबाट सम्मानित गरिएको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ,प्रमाणपत्र र दोसल्ला रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का गण्डकी इन्चार्ज तथा संघीय सांसद खगराज अधिकारीले पौडेललाई पुरस्कारबाट सम्मानित गरे । सम्मानित भएलगत्तै पौडेलले संगठनको कोषवृद्धिको लागि सो रकम हस्तान्तरण गरे ।
सम्मान समारोहमा बोल्दै सांसद खगराज अधिकारीले पत्रकारहरुले आफ्नो स्वतन्त्रता र मर्यादालाई ख्याल गर्दै स्वतन्त्र भूमिका निर्वाह गर्न आग्रह गरे । उहाले प्रेस स्वतन्त्रताको नाममा विकृतिहरु भित्रिएको तर्क गर्दै जथाभावी लेख्न पाउनु पर्छ भन्ने कुरालाई कानुन् बनाएर नियमन गर्नु प्रेस स्वतन्त्रतामाथी अंकुश नहुने तर्क राखे । उनले भने ‘पत्रकारले सही र गलतको भेद नछुट्याउँदा वा स्वार्थ प्रेरित भएर लेख्दा राज्य र ब्यक्तिले बेहोर्नु परेको क्ष्यतिपूर्ती कस्ले भर्छ ?’उनले कुनै दलले दवाव दिएका कारण पत्रकार आन्दोलित भएको आरोप लगाए । पत्रकार महासंघ दलले निर्णय गरेर आन्दोलन गर्ने संस्था हो ? अर्काको एजेण्डा बोकेको हिड्न हुन्छ ?’, उनले भने,‘ न काग्रेसको न नेकपाको स्वतन्त्र हुनु पर्दैन ? तपाईहरु बिकृतिको छोड्नुहोस हामी प्रेस स्वतन्ताको रक्षा गर्छौं । ’
पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गराएर प्रेस स्वतन्त्रता बिरोधी कार्य गरेको बताए । पुरस्कार छनौट समितिका संयोजक कोमलनाथ बरालले शहिद थमन परियार र महेश पहारीले निष्टापूर्वक वर्गीय पक्षधरताको पक्षमा पत्रकारिता गरेको चर्चा गरे । पुरस्कृत पत्रकार त्रिभूवन पौडेल माओवादी द्धन्द्धकालमा आफुलाई राज्य पक्षबाट दःुख दिँदा पनि डटेर काम गरेको बताए । पत्रकार सुरेश रानाभाटले कृष्णसेन इच्छुकको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रेस संगठनका माधव बराल, कृष्ण दवाडी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता प्रेस संगठनका सन्देश श्रेष्ठले गरेका थिए ।





