पोखरा,१५ जेठ – प्रेस यूनियन कास्कीले पत्रकार महिलाहरुको लागि शारदा स्मृती महिला पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार महिलाहरुको प्रोत्साहनका लागि यूनियन कास्कीले सो पुरस्कारको घोषणा गर्ने तयारी गरेको हो ।
गण्डकी प्रदेशमा क्रियाशिल पत्रकार महिलाहरु मध्येबाट बर्षेनि एक जना महिला पत्रकारलाई पुरस्कृत गरिनेछ । पुरस्कारको राशि ५१ हजार एक सय एघार सहित सम्मान पत्र र दोसल्ला रहने छ ।
नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष नबिन सिग्देलले प्रेस यूनियन क्रियाशिल पत्रकारहरुको हितका लागि सदैव क्रियाशिल रहने भन्दै पत्रकारको हितका लागि नयाँ नयाँ योजना सहित अगाडि बढ्ने बताए।
यो पुरस्कार स्थापनाका लागि पहल गर्ने पुरस्कार संस्थापक समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष बिमला भण्डारीले महिला पत्रकारहरुलाई यस क्षेत्रमा उत्साही भएर लाग्ने वातावरण सृजना गर्नका लागि उक्त पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने बताइन। गण्डकी प्रदेशमा लामो समयदेखि क्रियाशिल महिलाहरुको लागि प्रदान गरिने यो नै सबैभन्दा ठूलो राशीको पहिलो पुरस्कार समेत भएको उनले बताइन ।
प्रतिनीधीसभाका सांसद समाजसेवी उधोगपती सूर्यबहादुर के.सी. र उनकी धर्मपत्नी प्रेमकुमारी के.सी.को परिवारद्धारा स्थापित पुरस्कार स्वर्गिय शारदा केसी रोकाहाको स्मृतिमा स्थापना गरिएको हो । यस पुरस्कारको अक्षयकोष रु ६ लाख रुपैया रहेको छ । पत्रकार महिलाहरुलाई आफ्नो कार्यक्षेत्रमा प्रोत्साहन गर्नका लागि यो पुरस्कार स्थापना गरेको समाजसेवी सूर्यबहादुर के.सीले बताए ।





