पोखरा,१७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी संगठनमा भएको राजनीतिकरणले सर्वसाधारणले न्याय नपाउने अवस्था सृजना भएको बताएका छन् । उनले प्रहरी प्रमुखहरु गृहमन्त्री र राजनीतिक पार्टीप्रति बफादार हुने अवस्थाको अत्य हुनुपर्नेमा जोड दिँदै प्रहरीको काम गराई बदलिनु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हाता भित्र समुदाय–प्रहरी साझेदारीेमा निर्मित व्यायमशालाको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको प्रहरी प्रशासन नयाँनयाँ प्रविधियुक्त, दक्ष र साधनश्रोत सम्पन्न हुन जरुरी भएको औैल्याए । उनले हत्याको घटना जति पुरानो हुन्छ त्यति नै हत्यामा सम्लग्न व्यक्ति पत्ता लगाउन कठिन हुने प्रसंग झिक्दै निर्मला पन्तका हत्याराको पहिचानमा कठिनाई हुनसक्ने सम्भावना व्यक्त गरे । उनले कास्की प्रहरीले सर्वसाधारणको गुनासो दर्ता नै नगर्ने गरेको गुनासो आफूकहाँ आएको बताउँदै गुनासो नआउने गरी काम गर्न प्रहरीलाई निर्देशन पनि दिए ।
उनले राजनीतिक संरक्षणमा रहेका र नरहेका गुण्डाहरुले विकास निर्माणमा बाधा पु¥याएको बताउँदै भने,‘त्यस्ता गुण्डासमूहले इमान्दारिपूर्वक गुणस्तरीय काम गर्ने ठेकेदारहरुलाई अवरोध पु¥याउने गरेका छन्, गुण्डालाई तह लगाउने काम प्रहरीले गर्नुपर्छ ।’कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढाले लागूऔषध नियन्त्रणमा प्रहरी बढी चनाखो हुनुपर्नेमा जोड दिए ।अहिले कास्कीमा मात्रै करिब १० हजार व्यक्ति लागूऔषधको दुव्र्यसनमा परेको बताउँदै उनले भने,‘ स्कूल पढ्ने विद्यार्थी र गाडी चालकहरुले पनि लागूऔषध सेवन गरेको भेटिएको छ, यो डरलाग्दो अवस्थाबाट बाहिर निस्कन समुदायले पनि सघाउनु पर्छ ।’ उनले बिपत व्यवस्थापनको लागि प्रहरीलाई उपकरणको अभाव भएको औैल्याउँदै उपकरणको व्यवस्था हनुपर्नेमा जोड पनि दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, राजीव पहारी, कास्कीका प्रहरी प्रमुख ओम राना, डिएसपी रवीन्द्रमान गुरुङ,पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुृवन पौडेल,ब्यायामशाला निर्माण समितिका कोषाध्यक्ष अमृत भट्टराई,अध्यक्ष गौतम थापा लगायतले बोलेका थिए । ब्यायमशाला १३ लाख ५२ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो भने निर्माणको लागि नागरिक समाजबाट करिब ११ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।





