शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गुफाको डाँडोमा ‘जगन्नाथ भ्यु–टावर’

गुफाको डाँडोमा ‘जगन्नाथ भ्यु–टावर’


  • ध्रुबसागर शर्मा
  • जेष्ठ १७ २०७६, शुक्रबार

म्याग्दी,१७ जेठ – हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकहरुलाई लोभ्याउने धेरै सम्पदाहरु रहेका भएपनि पूर्वाधारको अभावमा ओझेलमा परेका अवस्थामा पछिल्लो समय समुदायको सक्रियतामा धमाधम पूर्वाधार निर्माणको काम शुरु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा पनि भ्यु–टावर निर्माणको काम शुरु भएको छ । चालु वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको पाँचलाख रुपैयाँको आर्थिक सहयोगमा भ्यु–टावर निर्माण थालिएको बेनी नगरपालिका ५ का वडाअध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिए । वडा तथा नगरपालिकामार्फत नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा जोड दिई धार्मिक पर्यटकहरुलाई जनन्नाथ मन्दिर सम्म ल्याउन र यहाँवाट प्राकृतिक सौन्दर्यावलोकन गराउन भ्यूटावर निर्माण गर्न लागिएको उनले बताए ।
जगन्नाथ मन्दिरामा धार्मिक र गुफाको डाँडोमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्यु–टावर निर्माणको काम अगाडि बढाइएको जगन्नाथ भ्यु–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए। बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयले हेलिप्याड समेत बनाएका छन् । प्रसिद्ध जगन्नाथ मन्दिरदेखि १० मिनेटको दुरीमा गुफाको डाँडो र ३० मिनेटको दुरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र अवस्थित छ ।
समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करिब डेढ दर्जन हिमश्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गुफाको डाँडाबाट म्याग्दी जिल्लाका साविक ४१ मध्ये ३७ ओटा गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडा समेत देखिन्छन् । प्रसिद्ध जगन्नाथ मन्दिर तथा गुफाको डाँडा नजिकै बाईसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना रहेको छ ।
कन्टेन्टजेन्सीसहित पाँचलाख रुपैयाँ बजेट रहेको भ्यु–टावर निर्माणका लागि ८५ हजार एकसय ४७ रुपैयाँ बराबरको जनश्रमदान रहेको छ । कुल ३६ फिट उचाई रहेको भ्यु–टावरको १ सय ७६ दशमलव ७१ वर्ग्फिट क्षेत्रफल र भ्यु–टावरमा ७ ओटा ल्याण्डिक (उक्लने र ओर्लने) भागहरु रहेको बेनी नगरपालिकाका सव–इन्जिनियर अर्जुन थापाले जानकारी दिए । यसैगरी एकपटकमा भ्यु–टावरको माथिल्लो भागमा करिब २५ जनासम्म चढेर अवलोकन गर्न सक्ने क्षमता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->