पोखरा, १९ जेठ- जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भई आएका प्रहरी उपरीक्षक दानबहादुर कार्कीको स्वागत एवं कास्की प्रहरी प्रमुखको कार्यकाल पूरा गरी प्रहरी प्रधान कार्यालयमा सरुवा भएका प्रहरी उपरीक्षक ओमबहादुर रानाको बिदाइ गरिएको छ ।नेपाल मगर संघ, कास्कीले आइतबार एक कार्यक्रमको आयोजना गरी नयाँ प्रहरी उपरीक्षक कार्कीको स्वागत र प्रहरी उपरीक्षक रानाको बिदाइ संयुक्त रुपमा गरेको हो । आफ्नो १३ महिने कास्कीको कार्यकाल पूरा गरी सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक रानाले आफू नयाँ कार्यक्षेत्रमा जान लागेपनि कास्कीका जनताको माया र साथलाई सधैं सम्झिरहने बताए ।आम नागरिकको साथ र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको जनाउँदै प्रहरी उपरीक्षक रानाले पछिल्लो समय प्रविधिको विकासका कारण समाजमा अपराधका घटना बढ्दै गइरहेको भन्दै सबै सचेत हुनु जरुरी रहेको बताए । कास्की जिल्ला आफैमा प्रदेश राजधानी र पर्यटनको केन्द्र समेत भएकाले सुरक्षाका दृष्टिले महत्वपूर्ण भएको भन्दै उनले प्रविधिको विकाससँगै बढ्दै गएको साइबर अपराध नियन्त्रण प्रमुख चुनौती बनेको उल्लेख गरे ।कास्कीका नयाँ प्रहरी प्रमुख कार्कीले प्रहरी सफल हुन विना बर्दीका प्रहरी नागरिकको महत्वपूर्ण भूमिका हुने बताए । अपराध नियन्त्रण प्रहरीको मात्र एकल विषय नभएको भन्दै प्रहरी उपरीक्षक कार्कीले प्रहरीलाई नागरिक समाजको निरन्तर सहयोग चाहिने उल्लेख गरे। आफू भर्खरै मात्र कास्कीमा आएकोले अघिल्ला प्रहरी नेतृत्वले अघि सारेका राम्रा कामलाई निरन्तरता दिँदै प्रहरी संगठनलाई भरोसायोग्य बनाउन लागिपर्ने उनले वताए ।नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष झकबहादुर थापामगर र पूर्व महासचिव लोकबहादुर थापामगरले प्रहरी उपरीक्षक रानाको कार्यकाल कास्कीमा सफलतापूर्वक बितेको बताउँदै नयाँ प्रहरी प्रमुख कार्कीको कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रम नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा,उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरको स्वागत र सचिव यामबहादुर थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो।





