शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोदी खोला जलविद्युत केन्द्रबाट करोड बढिको सामान हरायो

मोदी खोला जलविद्युत केन्द्रबाट करोड बढिको सामान हरायो

केन्द्रको सुरक्षामा गम्भिर त्रुटी


  • गणेश पौडेल
  • जेष्ठ २३ २०७६, बिहिबार

पर्वत,२३ जेठ – सेनाको सुरक्षा घेरा भित्र रहेका बिद्युत उत्पादनका लागि प्रयोग हुने सामान एकाएक हराएपछि पर्वतको मोदीखोला जल बिद्युत केन्द्रको सुरक्षामा गम्भिर त्रुटी फेला परेको छ । २ महिना पहिलादेखि मर्मतका लागि बाहिर निकालिएका सामान तोडफोड गरि बाहिर लैजाँदा समेत थाहा नभएपछि कर्मचारी र सुरक्षाको मिलेमतोको आशंका गरिएको छ ।
मोदीखोला जलविद्युत उत्पादन केन्द्रभित्र मेशिन चिस्याउन प्रयोग गरिने कुलर भित्र प्रयोग भएका तामाका पाईप र पाताहरु तोडफोड गरि लग्दा समेत कसैले थाहा नपाएपछि त्यहाँ भित्र काम गर्ने साना कर्मचारीहरु अचम्मित बनेको बताउँछन् । ‘हामीले देख्दै आएका सामान एकाएक हराए’ एक कर्मचारीले नाम नबताउने शर्तमा भन्नुभयो–‘सबै तामाका पाईप र तामाका पाता छैनन् ।’
केन्द्रको पावर हाउस परिसरमा मर्मतका लागि २÷३ महिना पहिलादेखि निकालेर राखिएका २ वटा कुलर र ब्रेकर प्यानल सहितका १ करोड बढि मूल्य पर्ने सामान हराएका हुन् । हाल यीनको बजार मूल्य १ वटा कुलरको ३५ लाख र सोही मूल्य बराबर ब्रेकरको पर्ने बताईन्छ । कर्मचारी, सुरक्षा गार्ड र नेपाली सेनाको नियमित रेखदेख रहने सो केन्द्रबाट सामान हराउनु गम्भिर सुरक्षा त्रुटी भएको कर्मचारी बताउँछन् ।
‘कर्मचारी र सुरक्षा निकायको मिलेमतो बाहेक कसैले केही गर्न सक्दैन’ एक कर्मचारीले भन्नुभयो– ‘सेनाले बहिरबाट हेर्न त दिँदैन चोरी गर्ने भन्ने टाढाको विषय हो ।’ कुलर मेशिनमा प्रयोग भएका पाईपको जडानबाट पानी चुहिएपछि मर्मतका लागि केन्द्र परिसर भित्रै रहेको थियो । सामान्य जडानले मात्रै बनाउन सकिने उक्त मेशिन प्रयोग बिहिन भएको भन्दै कर्मचारीहरु उम्किने प्रयास गरेका छन् ।
केन्द्रका स्टोरकिपर नारायण ढुंगानाका अनुसार काम नलाग्ने भएकाले बाहिर राखिएको र त्यसको खोजी भईरहेको बताउनुहुन्छ । ‘बिग्रेर बाहिर फालिएको अवस्थामा थियो’ उहाँले भन्नुभयो–‘मर्मत गर्न भन्दा लिलामी गर्दा सस्तो पर्ने भएकाले केही नगरि राखेका थियौं, हराएछ ।’ उहाँका अनुसार हराएको भन्ने जानकारी आँफूहरुलाई पनि भएको र आन्तरिक रुपमा खोजी भइरहेकाले अहिले सबै कुरा भन्न नमिल्ने बताउनुभयो ।
निमित्त केन्द्र प्रमुख ईञ्जिनियर प्रदिप पौडेलले भने जानकारी नै नभएको बताउनुभयो । हामीलाई यस बारेमा केही जानकारी छैन उहाँले भन्नुभयो–स्टोरसँग मौज्दात भएका सामान, प्रयोग भएका सामान र बिग्रेका सामानको बारेमा बुझेपछि मात्रै जानकारी दिन सकिन्छ । विद्युत उत्पादनमा धेरै सामान प्रयोग हुने र तीनको सबै जानकारी नहुने भएकाले स्टोरसँग बुझ्नुपर्ने उहाँको भनाई छ ।
यसरी हराएका सामानहरु कबाडीको भाउमा बेच्दा पनि ५ देखि १० लाख रुपीयाँसम्म पर्ने बताईन्छ । विद्युतका सामानका प्रयोग गरिएको तामा सबैभन्दा राम्रो हुने र बाहिर पनि सजिलै विक्रि हुने भएकाले मूल्य समेत राम्रो पर्ने गरेको बताईन्छ ।

तस्बिर ः मोदीखोला जलविद्युत केन्द्र पातिचौरको उत्पादन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->