बागलुङ,२४ जेठ – गल्कोट नगरपालिका–१ का बीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रको लागि लिखित परीक्षा दिएर प्रयोगात्मकको लागि उनी यातायात व्यवस्था कार्यालय धौलागिरी, बागलुङमा धाउने गरेका छन् ।
सवारीचालक अनुमतिपत्र मात्रै होईन उनले भर्खरै खरिद गरेको मोटरसाईकल पनि दर्ता गराउनु पर्नेछ । दुई हप्तासम्म कार्यालयमा धाईरहेका कार्कीको दुवै काम भएका छैनन् । यातायात व्यवस्था कार्यालयमा रहेका प्राबिधिक बसन्त श्रेष्ठ सरुवा भएर हिँडेपछि सवारी चालक अनुमती पत्रको लागि प्रयोगात्मक परिक्षा, सवारी जाँचपास, नामसारी र सवारी दर्ता लगायतका सबै काम रोकिएका छन् ।
श्रेष्ठ राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएपछि उनको ठाउँमा यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा कार्यरत महेश थापा सरुवा भएका छन् । अहिले काम गरिरहेको कार्यालयले रमाना नदिएका कारण उनी बागलुङ आउन नपाएको यातायात व्यवस्था कार्यालय धौलागिरीका सूचना अधिकारी देवबहादुर थापा सारुले बताए ।
प्रबिधिक नभएका कारण बीर बहादुर कार्की जस्तै दैनिक कार्यालयमा आउने दुई सयभन्दा धेरै सेवाग्राही मर्कामा परेका छन् । ‘म कार्यालय धाएको दुई साता भयो, काम भएको छैन’ कार्कीले भने– ‘म जस्ता सयौं जना दिनदिनै फर्केको देखेको छु ।’ बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी चार जिल्लाका काम हुने कार्यालयमा सेवाग्राहीको दैनिक चाप हुने गरेको छ ।
सवारी चालक अनुमति पत्रका लागि अनलाईन आवेदन भरेर लिखित परिक्षा दिएका झण्डै ६ सय जनाले प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । लगातर तीन हप्तासम्म प्रयोगात्मक परीक्षा नभएका कारण आँफुहरु मर्कामा परेको काठेखोला गाउँपालिका–७ रेशका मिनकुमार गुरुङले बताए । ‘यहाँको काम पोखरा पनि हुन्छन् जानु भनेर सुझाउँछन्’ गुरुङले भने ‘हजारमा हुने कामका लागि दुई हजार खर्चेर कसरी पोखरा जानु ।’
‘प्राविधिक काम हामीलाई आउँदैन सोही क्षेत्रमा काम गरेको कर्मचारी आवश्यक पर्छ’ सूचना अधिकारी सारुले भने ‘प्रबिधिक साथी नआउने बेलासम्म सम्बन्धित सबै काम रोकिन्छन् ।’ सरुवा भएका श्रेष्ठलाई अर्को कर्मचारी नआउने बेला सम्मका लागि काम गर्न आग्रह गरेको भएपनि उनी हिँडेको सारुले बताए ।
‘दुई महिनासम्म रमाना रोकेर हामीले उहाँलाई रोकेका थियौं’ उनले भने ‘अब रोक्न मिल्ने ठाउँ नरहेकाले आग्रह मात्रै ग¥यौं, उहाँ सरुवा भएकै ठाउँमा जानुभयो ।’ यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले यसै साता रमाना दिएपनि बागलुङमा रहेको कार्यालयमा प्रबिधिक आईपुग्न अझै दुई साता समय लाग्छ । निजामती कर्मचारीले एक कार्यालयदेखि अर्को कर्याालयमा सरुवा भएर जाँदा ७ दिन तयारी समय र थप बाटोमा लाग्ने समय लिन पाउने कानुनी व्यवस्था छ । भौगोलिक हिसाबले निकै टाढाबाट आउनुपर्ने भएकाले उनले कानुनी व्यवस्था अनुसारको बाटो म्याद लिएभने सर्वसाधारणका काम अझै लामो समय रोकिनेछन् ।
बागलुङमा रहेको कार्यालयबाट साविकको धौलागिरी अञ्चलका चार जिल्लाका काम हुने गरेका छन् । मोटरसाईकल, स्कुटर, मोपेड लगायतका दुई पांग्रे सवारीको मात्रै अनुमति पत्र वितरणको काम चलिहरको छ । आर्थिक बर्ष सकिने समय भएकाले काम लिएर कार्यालय आउनेहरुको चाप बढेको कर्मचारी बताउँछन् । प्रबिधिक कर्मचारी नभएर रोकिएका काम सञ्चित हुँदा असार लागेपछि काम गर्न थप असहज हुने उनीहरुको गुनासो छ ।





