
पोखरा, २७ जेठ – शुक्रबार प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमबारे आईतबारदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ । बैठकमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमजस्तै सत्तापक्षले बचाउ र प्रतिपक्षीले सुझावसहितको विरोध गरेका छन् ।
आईतबारदेखि सुरु भएको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षीले नीति तथा कार्यक्रमलाई छहारीमा बसेर सुन्ने गीतजस्तो भन्दै व्यंग्य गरे ।
दर्जनबढि नारा समेटिएको नीति तथा कार्यक्रममा सरकारले धेरै मिठो स्लोगन राखेको र रुखको छहारीमुनि बसेर सुनिरहने साहित्यजस्तो भन्दै राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाले व्यंग्य गरे ।
तर, नीति तथा कार्यक्रमले सांसदको भूमिकाको विषयमा मौन रहेकोमा उनले आपत्ति जनाए ।
“नीति र कार्यक्रममा २०३ बुँदाले धेरै मिठा स्लोगन राखेको छ” उनले भने, “तर, सांसदको भूमिका हुन्छ कि हुन्न भन्ने गम्भीर प्रश्न छ, १४३ वटा कार्यविधी पारित गर्दा हाम्रो भूमिका गौण बनाईएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सरकारको कवित्व जागृत भएकोमा खुशी र रमाईलो लागेको भन्दै व्यंग्य गरे ।
उनले नीति तथा कार्यक्रमको बुँदा नं. ९८, १०४, १०७ र १०८ मा केही राम्रा कुराहरु भने समेटिएको बताए । १६४, १७१ र २०२ मा भने उनले शाब्दिक परिवर्तनको माग राखे । उल्लिखित यी तीनै बुँदामा समाजवाद उल्लेख छ । “यी तीन बुँदामा उल्लेख भएको समाजवादको अगाडि लोकतान्त्रिक शब्द नछुटाउन आग्रह गर्छु” उनले थपे, “संविधानको प्रस्तावनमा नै उल्लेख गरिएको लोकतान्त्रिक समाजवादलाई नीति तथा कार्यक्रमले छुटाउन हुँदैन ।”
नेकपाका कृष्ण थापाले सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको ‘उज्यालो प्रदेश’ कार्यक्रमले अन्य ६ वटा प्रदेश चकित बन्ने बताए ।
नेकपाकै जुनादेवी नेपालीले दलित सहित पिछडिएका वर्ग र समुदायलाई प्राथमिकता दिईनुपर्ने बताईन् ।
आईतबारको छलफलमा १४ जना प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए । सोमबार पनि पुनः छलफल चल्ने कार्यसूची रहेको छ ।
बैठकमा बोल्दै कृष्ण थापा, प्रदेशसभा सदस्य, राष्ट्रिय जनमोर्चा





