शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जनप्रियले संझियो गणेशमान पालिखेलाई

जनप्रियले संझियो गणेशमान पालिखेलाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७६, बिहिबार

पोखरा, ३० जेठ- जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १४ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नु पर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पस प्रशासनद्वारा आयोजित स्मृति दिवसमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कुँबरले एक दशकभन्दा बढि समय उनको स्मृति दिवस मनाउँदा केबल शालिक बनाउने भनियो तर काम पूरा भएन अर्को स्मृति दिवस मनाउँदा हामी तस्विरमा होइन शालिकमा माल्यर्पण गर्ने प्रतिबद्दता ब्यक्त गरे । क्याम्पसका सल्लाहकार तथा पूर्व अध्यक्ष परशुराम बरालले समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरेको बताए । क्याम्पस प्रमुख तथा सदस्य सचिव बिरञ्जी गौतमले कुशल प्रशासक पालिखेलाई संझदै द्वन्द्वकालीन समयको उनको भनाइ उदृत गरे ‘मलाई छातीमा गोली हान, जलाऊ तर समुदायको क्याम्पस हो आगो नलगाऊ । ’ भन्ने हिम्मत गर्ने संस्थापक क्याम्पस प्रमुख शैक्षिक सहिद भएको जनाए । शैक्षिक संस्थालाई समृद्ध बनाउन स्वअनुशासन आवश्यक रहेकोमा जोड दिए । डा. बीरबहादुर कार्कीले स्व. पालिखेको जीवनीमाथि प्रकाश पार्दै क्याम्पसको हितका लागि आफूलाई बलिदान गर्न सक्ने पालिखे सरले कठीन परिस्थितिमा तलब खुवाउने रकम नहुँदा पोखराको महेन्द्रपुल बजारमा विङ्गो खेल खेलाएर रकम जम्मा गरी तलब खुवाएको स्मरण गरे । पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति नारायणप्रसाद पौडेल, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष नेत्रप्रसाद सुवेदी, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष सन्तोष अधिकारी, प्रजातान्त्रितक प्राध्यापक संघ जनप्रिय इकाइका सचिव गणेश चालिसे, कर्मचारी संघकी अध्यक्ष राधादेवी बाँस्तोला, स्वतन्त्र विद्यार्थी युनियनका सभापति आशिक गुरुङ, अनेरास्ववियुका सचिव गोविन्द महत, नेवि संघका सचिव हिक्मतजङ कार्की लगायतका वक्ताले संस्थापक क्याम्पस प्रमुख पालिखेकै कारण आज क्याम्पस विश्वविद्यालय अनुदान आयोगको दोस्रो पटक छनौटमा परेको र देशभरिका सामुदायिक क्याम्पसहरूमध्ये दुई पटक उत्कृष्ट घोषित भई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको चर्चा गरेका थिए । २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम कम पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिए पछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।क्याम्पस प्रमुख विरञ्जी गौतमकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलले स्वागत मन्तव्य राखेका थिए भने अर्का सहायक क्याम्पस प्रमुख कृष्णबाबु बरालले कार्यक्रम सञ्चालन गरेको जानकारी सहायक प्रशासक महादेव पालिखेले दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->