पोखरा ५ असार – सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।उक्त भिडन्तमा विप्लवका नेता कुमार पौडेल मारिएका हुन् ।
लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको थियो । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ ।
दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै गोली हान्ने प्रयास गरेपछि प्रहरीले जवाफी कारबाही गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए ।
चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको प्रवक्ता पोखरेलले बताए।
अन्य तीन जना फरार रहेको पोखरेलले बताए।





