म्याग्दी, ७ असार – म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाएकी छन।
शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्ययनसम्मको ग्रहण गरेकी हुन । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहेकी गौचनले रीतिकालाई उच्चशिक्षासम्म पढ्नका लागि मासिक शुल्कलगाएत अन्य सम्पूर्ण खर्च आफूले व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेकी हुन । रीतिकाका बुबा बाबु जिसीको गत बर्ष असोजमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको थियो ।
आफ्नो ५८ औं जन्मदिनको अवसरमा समाजसेवी एवम् नेपाल महिला संघ म्याग्दीको अध्यक्ष समेत रहनुभएकी गौचनले विद्यालयमा पुगेर अभिभावकत्व ग्रहण गरी जन्मदिन मनाएकी हुन ।
गौचनले टुहुरी बालिकाको उच्च शिक्षा सम्मको अध्ययनमा लाग्ने खर्चको जिम्मा आफुले व्यहोर्ने बताइन । आर्थिक अभावकै कारण बालिकाको अध्ययनको यात्रा विचल्लीमा नपरोस् भनि सहयोग गरेको समाजसेवी एवम् नेतृ गौचनले बताइन ।
‘सानै उमेरमा बुबा गुमाउनु परेको अकल्पनिय दुखद घटनाले मलाई स्तब्ध बनाएको छ,टुहुरी रीतिकालाई उच्च शिक्षासम्म अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च मैले भुक्तानी गर्नेछु ’समाजसेवी एवम् नेतृ गौचनले भन्नुभयो ।
रीतिकाकी आमा शोभाको जिविकोपार्जनमा पनि आफुले सहयोग गर्ने गौचनको भनाई छ । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एवम् विभिन्न संघ संस्थामा आवद्ध रहेकी गौचनले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी छन ।
बुबाको मृत्यु भएपछि विचल्लीमा परेका दुई बहिनीमध्ये रीतिकाकी जेठी दिदी रियानालाई विद्यालयले उच्च शिक्षासम्मको अध्ययनको जिम्मा लिएको बुद्ध एकेकडेमीका प्रिन्सिपल ध्रुबसागर शर्माले जानकारी दिए। उनका अनुसार कान्छी बहिनी रीतिकाका अध्ययनमा लाग्ने खर्च भने आमा शोभाले आफन्तको सहयोग एवम् मजदुरी गरेर जुटाउँदै आएकी थिइन । दिदी रियाना कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ भने बहिनी रीतिका कक्षा ४ मा अध्ययनरत छन ।





