पोखरा,९ असार – भोटेकुकुर संरक्षणको लागि २ लाख विनियोजन गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ५८ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कास्कीको उत्तरी भेगमा रहेको गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नै सुरक्षा, सुन्दरता र आवाजको लागि प्रख्यात रहेको भोटेकुकुर संरक्षणको पहल गर्ने घोषणा गरेको थियो । बजेटमा व्यवसायिक भेँडा, चौँरीपालन र पशुहरुको नश्ल सुधारको लागि १० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले सोमबार सार्वजनिक गरेको बजेटमा पिपल चौतारी, कुवा र पोखरी संरक्षणको लागि १५ लाख रुपैयाँ छुट्याइएको छ । बजेटमध्ये १२ करोड १३ लाख रुपैयाँ विषयगत शाखा,वडागत पूँजिगत अनुदानमा १ करोड ७७ लाख र समपुरक कोषको लागि ४ करोड विनियोजन गरिएको छ ।
गाउँपालिकाले बजेटमध्ये पूँजिगततर्फ १६ करोड ४६ लाख र चालुतर्फ ३९ करोड ५६ लाख विनियोजन गरेको जनाएको छ । गाँउपालिकाले वातावरण तथा विपद व्यवस्थानमा ७० लाख, वित्तिय व्यवस्थापनमा २५ लाख,संस्थागत विकासमा ४५ लाख,आर्थिक विकास समितिमार्फत सम्पादन हुने गतिविधिलाई २ करोड, सामाजिक विकासको लागि ३ करोड २० लाख,पूर्वाधार विकासमा ५ करोड ५३ लाख विनियोजन गरेको जनाएको छ । बजेटले एक घर, एक धारा, ग्रामीण सडक निर्माण र स्तरोन्नति, पदयात्रा मार्ग निर्माण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई विशेष जोड दिइएको गाउँपािलकाका अध्यक्ष युवराज कुँवरले बताए ।





