पोखरा, १० असार – रेष्टुरेण्ट एण्ड बार एसोसियन पोखराले यही असार १३ गते यहाँको लेकसाइडमा नेपाली खानाको ब्राण्डिङको लागि ‘फुड फेष्टिभल’ गर्ने भएको छ ।
‘नेप्लिज फुड प्रोमोसनल प्रोगाम’ नाम दिइएको सो फेष्टिभल फेवाताल किनाराको बाराहीचोकमा साँझ ५ बजेबाट राति ११ बजेसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा रेबानका महासचिव तथा महोत्सवका संयोजक गणेश थापाले जनाए । उनले नेपाली खानाको ब्राण्डिङ नहुँदा स्तरीय होटल, रेस्टुरेण्टहरुमा नेपाली खानाका परिकारको सूची भेट्न मुस्किल भएकाले महोत्सव ब्राण्डिङको सुरुवात गरिएको जनाए । फेष्टिभलमा थकाली , गुरुङ , नेवारी , थारु खानाका साथै केराका परिकारहरु पनि राखिनेछ । फेष्टिभलमा ५ वटा स्टल राखिने पनि उनले जनाए । उनले नेपाली खानाको मौलिकताको चर्चागर्दै आउँदो वर्ष पनि फेष्टिभल आयोजना हुने जानकारी दिए ।
‘दाल, भात, तरकारी र टिमुरको अचारसहितको खाना संसारको कुनै अर्काे भान्छामा पाक्दैन’, उनले भने,‘आफ्नै मौलिकतासहितको खाना खाएर तराई मधेसको ताप र मलेरियासँग जुध्ने शक्ति थारुले प्राप्त गरेको तथ्य हामीले संसारलाई किन नदेखाउने ?’ पहाडको आँटो पिठो र ढिँडोकै शक्तिले उकालीओराली र भन्ज्याङ गर्न सक्ने नेपालीको पहिचान किन उजागर नगर्ने भन्दै उनले जिब्रो लठ्याउने नेवारी परिकार, कोरियन किम्चीभन्दा स्वादिलो गुन्द्रुकको स्वादलाई अन्तर्राष्ट्रिकरण गर्न महोत्सव फलदायी हुने दावी गरे ।





