शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनीका रिता र मनमायाले पाए ‘बास’

जैमिनीका रिता र मनमायाले पाए ‘बास’


  • Dhorpatan News
  • असार २२ २०७६, आइतबार
All-focus

बागलुङ, २२ असार – मजदुरी गरेर छोराछोरी पाल्दै आएकी जैमिनी नगरपालिका–७ की रिता नेपाली केही दिन पहिला आफ्नै घर प्रवेश गरिन् । जैमिनी नगरपालिकाले उनलाई घर र घडेरीका लागि खर्च उपलव्ध गराएपछि रिताले आफ्नै घर पाएकी हुन् । चार छोराछोरीकी आमा रिताले कहिले अर्कैको घरमा मजदुरी गर्थिन भने कहिले होटल रेष्टुँराहरुमा भाँडा धोएर छाक टारेकी थिईन् । श्रीमानको मृत्यु भैसकेकाले पाँच जनाका परिवार उनकै एक्लो मेहेनतले चलेको थियो । काम गरेर छाक टार्ने उपाय बनाएपनि उनको बस्नका लागि आफ्नै बास थिएन् । अहिले आफ्नै घडेरीमा घर बनेको छभने सुकुम्बासीको परिचय फेरीएको उनको परिवार आफ्नै घरमा निकै रमाएको छ ।
रिता जस्तै जैमिनी–३ दमेककी मनमाया बि.क. जग्गा र घर पाएपछि खुसीले दङ्ग छिन् । जन्मदेखि नै सुकुम्बासी जीवन बिताएकी उनीलाई नगरपालिकाले घरजग्गाको लागि सहयोग गरेपछि आफ्नै घर बनेको छ । ३२ वर्षीय बि.क. भन्छिन्– ‘राज्यले यसरी सहयोग गर्छ भन्ने मैले सोचेको थिइन् अहिले घरजग्गा पाएकोमा खुसी छु ।’ ‘अब आफ्नै घरमा बस्न पाउने भएको छु, अनि खेतीपाती पनि आफ्नै बारीमा गर्न पाउने भएको छु, त्यसैले खुसी लागिरहेको छ’ बि.क.ले भनिन् ‘अब घरबीहिन भएर अर्काको घरमा बस्न जानु पर्ने बाध्यता हट्यो ।’ हरिकलाका श्रीमानको मृत्युभैसकेको छ भने चार जना छोराछोरी छन् ।
रिता र मनमायाँ दुवैले निमेक गर्ने, अर्काैकोमै बस्ने गरेका थिए । तर अब बास भएपछि गाँसका लागी मात्रै संघर्ष गरे पुग्ने मनमयाँ बताउँछिन् ।

घर र घडेरी पाएपछि सुकुम्बासी परिवारमा खुसी छाएको छ । रिता र मनमायाँ जस्ता सुकुम्बासी जैमिनी नगरपालिकामा १७ जना छन् । ४ जना एकल महिला तथा पुरुषहरु हुन्भने बाँकी १३ परिवार छन् । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नगरभित्र सुकुम्बासी समस्या समाधानाको उद्घोष गरेको नगरपालिकाले तथ्यांक संकलनपछि जग्गा खरिद र घर निर्माणका लागि सुकुम्बासीहरुलाई आग्रह गरेको थियो । ३० लाख रुपैयाँ बजेट समेत बिनियोजन भएको सुकुम्बासी समस्या समाधान गर्ने कार्यक्रम अन्तर्गत यो बर्ष रिता र मनमायाँले मात्रै घर बनाएका छन् । सुकुम्बासीहरुलाई प्रतिघर ३ लाख रुपैयाँका दरले अनुदान रकम उपलव्ध गराउने नीति रहेको नगर उप–प्रमुख लिला रानाले बताए ।

सुकुम्बासीको सूचीमा सूचिकृत भएका परिवारले घडेरी खरिद गरी लालपुर्जा पेश गरेमा १ लाख रुपैयाँ र दुई कोठे भूकम्प प्रतिरोध घर निर्माण गरेमा बाँकी दुई लाख रुपैयाँ पाउने कार्यबिधिमा उल्लेख छ । ‘हामीले सबै परिवारलाई घडेरी खरिद र घर निर्माणका लागि आव्हान गरेका हौं’ रानाले भने ‘प्रकृया पुरा गरेर आउने दुई परिवारको मात्रै यो बर्ष घर बनेका छन् ।’ ८ परिवारले घडेरी खरीद गरेर लालपुर्जा लिएका छन् । उनीहरुले घडेरी खरिद बापतको रकम लिईसकेको नगरपालिकाले जनाएको छ । आगामी आर्थिक बर्षमा सबै सुकुम्बासी परिवारको घर निर्माण गरीसक्ने लक्ष नगरले राखेको छ । ‘हाम्रो वडामा रहेका सुकुम्बासीले घडेरी किनीसके बर्खा लागेकाले घर बनाउन सकिएन्’ जैमिनी नगरपालिका–२ दमेकका वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भने ‘आगामी असोजबाट घर निर्माणको काम अघि बढ्छ ।’ जैमिनी नगरको वडा नं १ मा २, वडा नं २ मा ३, वडा नं ३ मा २, वडा नं ६ मा १, वडा नं ७ मा ३, वडा नं ८ मा ४, वडा नं ९ मा १, वडा नं १० मा १ परिवार सुकुम्बासी रहेको तथ्यांक नगरपालिकासँग छ । आगामी आर्थिक वर्ष सम्ममा घरजग्गाको लागि सहयोग गरि सुकुम्बासी मुक्त नगरपालिका निर्माण गर्ने योजना लिएको नगर प्रमुख इन्द्र राज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->