
काठमाडौं, २८ असार – लगातार परेको वर्षापछिको बाढी र पहिरोबाट देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।
मृत्यु हुनेमा ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा तीन तीन जना, सिन्धुली र धादिङमा दुई दुई जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा एक एक जना रहेका छन्।
बाढी, पहिरोमा फसेका ८३१ जनाको उद्धार गरिएको छ। प्रहरीको तथ्यांकअनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना बेपत्ता छन् । बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्धारका लागि २७ हजार ८३० प्रहरी, १६ हजार सशस्त्र प्रहरी खटाइएको जनाइएको छ ।





