पोखरा,६ भदौ – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको मूल आधार नै पर्यटन भएको हुदा पर्यटन क्षेत्रमा उथलपुथल हुनेगरी काम गरिने बताएका छन । प्रदेश सरकार गठन हुना बित्तिकै गण्डकी प्रदेशले पर्यटनलाई पहिलो नम्बरमा राखेर समृद्धिको यात्रा तय गरेको हुँदा यो क्षेत्रमा नयाँ आयाम आउनेगरि काम गर्ने उनले बताए ।
‘हामीले हचुवाको भरमा भनेको होइन ,बिज्ञसंगको छलफल ,अनुसन्धान गरि यसको आम्दानी,रोजगारी ,सम्भावनाको मध्यनजर गरेर हाम्रो निति कार्यक्रममा पहिलो नम्बरमा राखेका हौँ,उनले भने । मन्त्री लम्साल रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेबान) पोखराको २५ आँै वार्षिका साधारणसभाको अवसरमा बिहीबार पोखरामा बोल्दै थिए ।
गण्डकी प्रदेशको पर्यटन विकासको लागि प्रदेश स्तरीय पर्यटन बोर्ड,पर्यटन विश्वविद्यालयको परिकल्पनादेखि दक्ष जनशक्ति उत्पादन गर्ने बारेमा योजना बनाएको उनले बताए । जलश्रोत र कृषिमा पनि प्रदेशको सम्भावना रहेको बताउँदै उनले पर्यटनको विकास गरी प्रदेशलाई समृद्ध बनाउने योजना अनुरूप प्रदेश सरकार र मन्त्रालय लागि परेको जिकिर गरे ।
नागरिकले अपेक्षा गरेअनुरूप सरकार अघि बढ्न नसकेको स्वीकारगर्दै उनले भने,‘राणा ,राजा र अस्थिरताले थिलथिलो भएको मुलुक हो ,यसको जबाफ अहिलेको सरकारले दिनुपरेको छ ,यस्ता चुनौतीको सामना गरेर समृद्धिको लक्ष्य हासिल गर्नेछौँ ।’
अहिलेको कर्मचारी संयन्त्र र प्रशासनलाई परिवर्तन र प्रबिधियुक्त नबनाए सम्म सरकारको लक्ष्य हाँसिल गर्न कठिन हुने मन्त्री लम्सालले बताए । ‘हाम्रो कर्मचारी संयन्त्र खरीदारदेखि टिप्पणी उठाएर सचिबसम्म पु¥याउने ‘लेखिकृत’ प्रणाली छ ,जसबाट जनताको अपेक्षा र सरकारको लक्ष्य हासिल गर्नुपर्ने बाध्यता छ’, उनले थपे ।
आन्तरिक भ्रमण वर्ष र नेपाल भ्रमण सफल पार्नको लागि गण्डकी प्रदेशका ११ जिल्ला र ८५ वटा स्थानीय तहका पर्यटकीय गन्तब्यको व्यवस्थापन र प्रचारप्रसार स्थानीय तह र व्यवसायीको सहभागितामा काम गर्ने गरी योजना बनाएको उनले बताए । आन्तरिक भ्रमण वर्षको तैयारीमा केही ढिलाई भएको टिपण्णी भए पनि आगामी असोजदेखि पुससम्म गण्डकी प्रदेशमा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उनको दाबी थियो । पोखरालाई पर्यटनको केन्द्र बनाएर समग्र प्रदेशको पर्यटन विकासको गुरुयोजनासहित अघि बढ्ने उनको भनाई छ । अहिलेसम्म निजी व्यवसायीको भरमा चलेको पर्यटन व्यवसायमा अव सरकारले नेतृत्व गरेर अघि बढ्ने मन्त्री लम्सालले बताए । ‘अब पर्यटन व्यवसायीले यो भएन ,त्यों भएन भनेर गुनासो गर्ने होइन’, उनले भने,‘यो चाहियो भनेर सरकारसँग आउनुपर्छ ।’
फरक प्रसंगमा अहिलेको सरकार निरंकुस नभएको बताउदै खराब गतिबिधिमा जनतालाई औंला ठड्याउने अधिकार भएको र सरकारले आलोचनाको स्वागत गर्ने उनले बताए ।
सो कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख कोमल शाहले पोखरा र लेकसाइडको शान्ति सुरक्षाको जिम्मेबारी आफुहरुको भएको भन्दै शान्ति सुरक्षाको बारेमा अपबाह फैलाउने काम नगर्न आग्रह गरे । केही मान्छेको स्वार्थमा सुरक्षा ब्यबस्था माथि अनावश्यक प्रचार भएको जिकिर गर्दै उनले भने, ‘म कुर्सी ओगटर एसी रूममा सुत्न आएको होइन ,तपाईहरुको सेवा गर्न आएको हो ।’
कार्यक्रममा बोल्दै रेवानका सल्लाहकार सूर्य भुलेलले आन्तरिक भ्रमण वर्षको आधा वर्ष बितिसक्दा समेत तैयारी सुरु नहुनु दुखद भएको बताए । भ्रमण वर्षको मुखमा सरकारले भिसा शुल्क बढाउनु गलत भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जिवी पोखरेलले लेकसाइडको रात्रिकालीन व्ययसायको वारेमा नकारात्मक टिकाटिप्पणी गर्नु र अदालतसम्म पुग्नु गलत भएको धारणा राखे । निश्चित नियम कानूनमा रही जिम्मेवार बनेर आफ्नो पेशा व्यवसायलाई मर्यादित बनाउन उनको आग्रह थियो । भारतबाट आउने सार्वजनिक तथा निजी सवारीलाई पोखरा आएपछि यहाको सार्वजनिक सवारीमा यात्रा गर्ने व्यवस्था गर्न सके यहाँका सार्वजनिक यातायातको हित हुने उनको भनाई थियो ।
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीब बहादुर कोइरालाले सरकारको राजस्व प्राप्तिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको तर राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । उनले तीनै तहका सरकारले व्यवासायिक वातावरणमैत्री कानून निर्माण गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा पश्चिमान्चल होटल संघका अध्यक्ष बिकल तुलाचन ,सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराई लगायतले बोलेका थिए ।कार्यक्रममा रेबानका महासचिव गणेश बहादुर थापाले प्रगति प्रतिबेदन प्रस्तृतगर्दै संस्थाले गर्दै आएका नियमित कार्यक्रमलाई थप सिर्जनसिलताका साथ निरन्तरता दिने जानकारी गराएका थिए ।२१ औ सडक महोत्सब ,होली महोत्सब ,मिनी सडक महोत्सब र नेपाली मौलिक खाना प्रबर्दन कार्यक्रम रेबानले गर्दै आएको छ ।कार्यक्रम रेबानका अध्यक्ष भीमसेन भुजेलको अध्यक्षता र उपाध्यक्ष लक्ष्मण बरालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।





