बागलुङ,९ भदौ – नेपाली काँग्रेस केन्द्रीय समितिले छाया सरकार बनाए जस्तै यहाँको गाउँपालिका तहमा पनि छाया सरकार गठन गरिएको छ ।
काठेखोला गाउँपालिकामा कांग्रेसले अध्यक्षका पराजित उमेदवार होमबहादुर हमालको अध्यक्षतामा छाया सरकार बनाएको हो । बारम्बार ज्ञापन पत्र मार्फत गाउँपालिकामा अनियमितता रोक्न खोज्दा नसकेपछि छायाँ सरकार बनाउन बाध्य भएको कांग्रेसका कार्यकर्ताले बताए ।
छायाँ सरकारले स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा खवरदारी गर्ने हमालले बताए । हामी गाउँपालिका भित्रको विकास निर्माणमा सहयोग पु¥याउँछौ, हमालले भने, गाउँपालिकाले अनियमितता र एकलौटी गर्न खोजे खबरदारी पनि गर्नेछौं । छायाँ सरकार विरोधका लागि नभएर सहयोगका लागि रहेको हमालले बताए ।
काँग्रेसले जिल्लाका हरेक स्थानीयतहलाई आवश्यकता अनुसार छाया सरकार गठनका लागि सर्कुलर गरिसकेको पार्टी सचिव नवराज पौडेलले बताए । ‘जिल्लाका दश वटै पालिकामा केन्द्रिय निर्देशन बमोजिमनै छायाँ सरकार गठन हुन्छ’ सचिव पौडेलले भने, ‘तत्कालका लागि काठेखोला गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले एकलौटी गरेको भन्ने जनगुनासो आएपछि पहिलो गठन गरिएको हो ।’ काँग्रेसले गाउँपालिकामा भएका अनियमिता बिरुद्ध ज्ञापन पत्र पनि बुझाएको छ । गाउँपालिकाले गर्ने विकासका कार्यहरु जनताको जनचासो र जनचहान अनुरुप नभई दायित्व र स्वार्थमा लिप्त भएको कांग्रेसको आरोप छ । कांग्रेसको गाउँपालिका सभापति ज्ञामनाथ कंडेलले हस्ताक्षर गरेको ज्ञापन पत्रमा गाउँपालिकालाई जनपक्षीय काम गर्न पनि माग गरिएको छ ।





