शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

कसरी बन्छ मुस्ताङको ‘मार्फा ब्रान्डी’ ?

कसरी बन्छ मुस्ताङको ‘मार्फा ब्रान्डी’ ?

फलफूल बजारमा सहज रुपमा बिक्री हुन नसक्ने भएकोले प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर लगायत तयार गरिन्छ।


  • सुन्दरकुमार थकाली
  • साउन २० २०७६, सोमबार

जोमसोम, २० साउन – शितोष्ण वागवानी विकास केन्द्र मार्फामा विभिन्न फलफुल प्रशोधनको चटारो छ। केन्द्रको फर्ममा उत्पादन हुने फलफूल बजारमा सहज रुपमा बिक्री हुन नसक्ने भएकोले प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर लगायत तयार गरिन्छ। गोल्डेन स्याउ, आरुबखडा, खुर्पानी र चिली लगायतका फलफूल वागवानीले बर्सेनी प्रशोधन गर्छ।
वागवानीले फर्ममा उत्पादित विभिन्न फलफूल प्रशोधन गरी ब्रान्डी ,वाइन, साइडर, जाम र सुकुटी बनाउने गरेको केन्द्रका वरिष्ठ अधिकृत वालकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार स्याउ बाहेक खुर्पानी, चिली र आरुबखडा जस्ता फललाई बोटबाट टिेपेर धोई पखाली हावा नछिर्ने ड्रममा एकसाता सम्म भण्डारण गरिन्छ।
एकसातापछि निचोरेर छोक्रा निकाली तरल पदार्थ ठूलो भाँडोमा राखेर २ घण्टासम्म आगोमा पकाइन्छ। पकाइएको तरल पदार्थ पुनः ल्याबमा राखेर ग्यास जारबाट बाहिर निकालिन्छ। ग्यास निस्क्रिय भएपछि स्वतः वाइन तयार हुन्छ। तर, वाइनको झोलमा चिनीको मात्रा मिलाइन्छ।यस्तै वाइन बनाउँदा निकालिएका छोक्रालाई पुनः ब्यारेलमा राखेर दुई सातासम्म हावा नछिर्ने गरी भण्डारण गरिन्छ।  भण्डार गर्दा मर्चा र केमिकल पनि मिसाइन्छ।
यसरी भण्डार गरिएको स्याउ तथा अन्य फलफूलको छोक्रा र रसलाई ब्यारेलमा राखेर कुहाइन्छ। निश्चत अवधिपछि उक्त जाँडलाई भट्टामा राखेर पकाइन्छ। यसबाट उठेको बाफ नै ब्रान्डीको रुपमा पाइपमार्फत् बाहिर निकालिन्छ र ब्रान्डी तयार हुन्छ। बागवानी विकासले वार्षिक बजेट तथा कच्चा पदार्थ उत्पादनलाई मध्यनजर गरेर फलफूल प्रशोधन गर्ने गरेको वरिष्ठ अधिकृत अधिकारीले जानकारी दिए। कच्चा पदार्थ र बजेट अनुपात अनुसार प्रशोधनको लक्ष्य राखिएको उनले बताए।
उनले यो वर्ष साइडर, वाइन र ब्रान्डी गरी २ हजार ८०० लिटर, स्याउको जाम १५० केजी र स्याउको सुकुटी एक क्विन्टल तयार पार्ने लक्ष्य रहेको बताए। उनले बागवानीले उत्पादन गर्ने फलफूल तथा प्रशोधित सामग्री नाफामुलक नभई सेवामुखी भएको जनाए। बागवानीले माग अनुसारको आपूर्ति गर्न नसकेको उनको भनाई छ।
मार्फामा मात्रै बागवानी बाहेक ५ वटा ब्रान्डी उत्पादन गर्ने निजी डिस्टिलरी छन्। यस्तै अन्यले स्याउका विभिन्न परिकार बनाएर बिक्रि गर्ने गरेको उनको भनाई छ। मार्फा वागवानी विकास केन्द्रको कुल क्षेत्रफल १७५ रोपनी मध्ये ७ हेक्टर जमिन खेतीयोग्य छ। केन्द्रमा अहिले वरिष्ठ अधिकृत सहित आधा दर्जन कर्मचारी कार्यरत छन्।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->