आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विकासको नाममा अभिभावकविहीनको उठिबास

विकासको नाममा अभिभावकविहीनको उठिबास

अदालतको परमादेशलाई उपभोक्ता समितिले टेरेन


  • Dhorpatan News
  • असोज १३ २०७६, सोमबार

पोखरा,१३ असोज – सम्झना सिग्देल र अन्जला सिग्देलले बाबुआमा गुमाएको ७ वर्ष बितिसक्यो । २०६८ मा उनीहरुका बाबु झविन्द्र सिग्देलको निधन भयो । बाबुभन्दा पहिल्यै २०६६ मा आमाले संसार त्यागिन् । दुई दिदीबहिनीका एक भाई छन् । अभिभावकविहीन बनेका उनीहरुले नै भाईको रेखदेख गर्दै आएका छन् ।
बाबुआमाको अभावमा नै जीवन अगाडि बढाईरहेका उनीमाथि अहिले अर्को आपत आईपरेको छ । पिताले छाडेर गएको जग्गामा उभिएका उनीहरुको अहिले टेक्ने ठाउँनै मासिएको छ । साविकको कृष्ति नाच्नेचौर गाउँ विकास समिति, वडा नं. ३ हाल पोखरा महानगरपालिका २१ मा स्वर्गीय झविन्द्र सिग्देलको नाममा ७ आना १ पैसा जग्गा थियो । मालपोतको अभिलेखले उक्त जग्गाको कित्ता नं. ६७ देखाउँछ । सोही जग्गाको बीचबाटै अहिले डोजर लगाएर बाटो निर्माण थालिएको छ । फुस्रेखोला–रामदी–महिखाना–नुवाकोट–उपभोक्ता सडक निर्माण समितिले बाटो बिस्तारका क्रममा डोजर लगाएको हो । डोजर लगाउँदा समितिले जग्गाधनीको मन्जुरी त परै जाओस, एकपटक सोध्दा पनि सोधेनन् ।
विकासको नाममा उठिबास नै हुने भएपछि सिग्देल दिदीबहिनीले उच्च अदालत पोखरामा असोज ५ गते निषेधाज्ञा सहितको परमादेशको आदेश जारी गरिपाउँ भनि निवेदन दिए ।निवेदनमा नाबालक समेतसँग कुनै सल्ला सहमति समेत केही नगरी उक्त बाटोलाई आफूखुसी ९ मिटर चाक्लो बनाउने भनि निर्णय समेत गरिएको र एकतर्फी रुपमा निर्णय गरि बाटो निर्माण गर्दै गएका र हामी बेसहाराहरुको जग्गालाई जे गरेपनि हुन्छ जस्तो गरि पिताको नाममा रहेको जग्गामा १६ मिटर चाक्लो बाटो निर्माण गर्न नाली समेत खनिएको उल्लेख गरिएको छ ।
बाटो निर्माण गर्दा साँधमा रहेको २६०३ कित्ताको जग्गा १ मिटरमात्र र ६७ नं. कित्ताको जग्गा सबै मिचिएको निवेदनमा उल्लेख गरिएको छ । यस्तै, हामीले कोही कसैलाई चिन्दैनौँ तिमीहरुको जग्गा रहोस, नरहोस हामीलाई मतलब छैन भनि धाक धम्की दिएको समेत उल्लेख गरिएको छ । उपभोक्ता समितिले नै धाकधम्की देखाएपछि उनीहरुले महानगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दिए । न्यायिक समितिमा छलफल पछि विवादित जग्गा तथा सँधियारा समेतको जग्गा नापजाँच गरि बाटोको चौडाई तथा क्षेत्रफल यकिन गर्नुपर्ने सहमतिसहित भदौ २७ गते वडा नं. १७ र २१ का जनप्रतिनिधी तथा प्राविधिक कर्मचारीको रोहवरमा स्थलगत नापजाँच गर्ने निर्णय भएको थियो । उक्त बैठकले प्राविधिक गणेश गिरीलाई नापजाँचको लागि खटायो । तर, उक्त दिन सडक निर्माण समितिका अध्यक्ष देवी बहादुर थापाले दशैँ अगाडि कुनै काम नगर्ने र दशैँ पछि सबैको अनुकुलताको आधारमा नापजाँच गर्ने भन्दै उम्किए । उक्त दिन बाटोको नापजाँच भएन् ।
नापजाँचको लागि आएको टोली फर्किएपछि उनै थापाले सिग्देल दिदीबहिनीलाई फेरि धम्कीको भाषा प्रयोग गरे । निवदेनमा भनिएको छ, ‘हामीलाई नगरपालिकामा झिकाउन लगाउने तिमीहरु नै होइनौ ? अहिले सम्म त १६ मिटर मात्रै बाटो निर्माणको लागि काम सुरु गरेका थियौँ, अब तिमीहरुको यहाँ रहेको सम्पूर्ण जग्गामा नाली तथा बाटो बनाउँछौँ ।’बाटो निर्माणकै लागि अहिले उक्त क्षेत्रमा रहेको प्रतीक्षालय पनि भत्काइएको छ ।
निवेदनमा बाटो निर्माण समितिका अध्यक्ष देवी बहादुर थापा, पदमबहादुर थापा, हर्क बहादुर रेग्मी, डम्बर बहादुर गुरुङ, समन बहादुर गुरुङ, अनुगमन समितिका सदस्य हरि सुवेदी, पूर्णबहादुर थापा, पोखरा उपत्यका नगर विकास समिति र गण्डकी प्रदेश सडक डिभिजन कार्यालय बाग्लुङलाई विपक्षी बनाईएको छ । सिग्देल दिदीबहिनीको निवेदनउपर उच्च अदालत पोखराले असोज ६ गते निषेधाज्ञा सहितको परमादेश जारी गर्दै असोज ३० गतेसम्म कुनै काम कारवाही नगराउनु भन्ने आदेश दिएको थियो ।तर, उच्च अदालतले परमादेशको समेत बेवास्ता गर्दै अहिले पनि उपभोक्ता समितिले काम गरिरहेको छ । शुक्रबार निर्माणस्थलमा पुग्दा पनि उपभोक्ता समितिले निर्माणकार्य सञ्चालन गरिरहेको थियो ।
यस विषयमा बुझ्न खोज्दा समितिका अध्यक्ष देवी बहादुर थापा भने सम्पर्कमा नै आएनन् । वडा नं. २१ का वडाध्यक्ष खगराज आर्चाय चाहिँ आफू जानकार नभएको बताए । पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल अधिकारीले भने बाटोको मापदण्ड क्षेत्र अनुसार फरकरफरक भएको बताए । उनका अनुसार महानगरभित्र न्यूनतम्, ६ मिटरको बाटो बनाउनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->