काठमाडौं, ९ कात्तिक-बागलुङका पूर्व सांसद स्व. गोविन्दराज अधिकारीले समाजमा दिएका योगदान समाजमा स्थापित गर्ने उदेश्य सहित स्व. गोविन्द स्मृति प्रतिष्ठान गठन गरिएको छ । अधिकारीलाई चिरस्मरणीय बनाइन राख्ने अभियानलाई अगाडि बढाउने सन्दर्भमा शनिवार काठमाण्डौको गल्फुटार मुक्तिनाथ बाबा आश्रममा शनिवार अभियानको शुरुवात गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले स्वर्गिय अधिकारीले समाज र नेपालको कम्युनिष्ट समाजवादी आन्दोलनमा पुराएको योगदानको वारेमा वताए । आँफुले पार्टीको सदस्यता बागलुङ जिल्लाबाटै लिएको र स्व. गोविन्द अधिकारीलाई कहिल्यै विर्सन नसक्ने बताए । कार्यक्रमका विशिष्ट अतिथिको रुपमा बोल्दै स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)ले स्वं गोविन्द अधिकारी स्मृति प्रतिष्ठान निर्माणको लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाए ।
सो अवसरमा मन्त्री थममाया थापा, सांसद एवं पूर्व मन्त्री दिनानाथ शर्मा, सांसद मना केसी, सांसद डा. सूर्य पाठक, नेकपा केन्द्रीय सदस्य एवं सगरमाथा आरोही कृष्ण केसी, नेपाल सरकारका सचीव मोहन कृष्ण सापकोटा, सिपी रेग्मी, बिष्णुनाथ शर्मा, योगराज गौतम, भानु रोसन अधिकारी, पदम कुमार गिरी, मोहन घिमिरे, दिनेश रिजाल लगायतका व्यक्तित्वहरुले अधिकारीको स्मरण गरेका थिए ।
सो कार्यक्रमबाट स्व. गोविन्द अधिकारी स्मृति प्रतिष्ठानको अध्यक्षमा श्रीमती भीमा अधिकारीलाई र महासचिवमा संजय अधिकारीलाई जिम्मेवारी दिएको छ । १५ सदस्यीय तदर्थ समिति गठनको जिम्मेवारी अध्यक्ष श्रीमती भीमा अधिकारीलाई र प्रतिष्ठान निर्माणको लागि आर्थिक सहयोग संकलनको संयोजकको जिम्मेवारी संजय अधिकारीलाई दिइएको छ । कार्यक्रमको संचालन तत्कालीन नेकपा एमाले बागलुङ काठमांडौ सम्पर्क मञ्चका सचीब तारा सापकोटाले र स्वागत संजय अधिकारीले गरेका थिए ।
प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण गर्ने एवं संभावित सामाजिक कार्यक्रम एवं संस्थाले गर्नुपर्ने निर्णयहरुको बारेमा बिस्तृत प्रस्ताव इन्जिनियर खिमानन्द कँडेलले प्रस्तुत गरेका थिए । प्रतिष्ठान निर्माणको लागि जग्गा व्यवस्थापन एवं भवन निर्माण सहित न्यूनतम रु. १ करोड बजेट आवश्यकता रहेको उनले जानकारी दिए ।
तत्कालीन संसद स्वर्गीय गोविन्दराज अधिकारीको बागलुङ बजारबाट गल्कोट हरिचौरमा हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदैगर्दा बागलुङ जिल्लाको साबिकको विहुँ गाविसको सिर्पालीमा २०५५ साल फाल्गुण १० गते निधन भएको थियो ।





