पोखरा,२ मंसिर -सबै उम्मेदवारहरु यतिबेला घरदैलोमा जुटेका छन् । चुनाव जितेपछि कहिल्यै आफ्ना प्रतिनिधी देख्न नपाउने मतदाताहरुले यसपटक आफ्नै घरआँगनमा उम्मेदवारहरुलाई देखे । पोखरा महानगरका ३३ मध्ये ११ वटा वडा मिलेर प्रतिनिधीसभा निर्वाचनको कास्की २ नं. क्षेत्र बनेको छ । वडा नं. ३३ यस क्षेत्रबाट विजयी भएका दिवंगत उम्मेदवार रविन्द्र अधिकारीको जन्मस्थान पनि हो ।
यही वडाको पुछारतिर सुकुम्बासी बस्ती ‘छप्लाङ टोल’ पर्दछ । छेउमा सेती नदी, धुले बाटो, पुराना र च्यातिएका कपडामा उभिएका स्थानीयहरु । ६६ घरधुरीमध्ये यहाँ धेरैको लालपूर्जा छैन् । ८५ प्रतिशत दलित बस्ती रहेको यस टोलमा आईतबार कांग्रेसका उम्मेदवार खेमराज पौडेल मत माग्न पुगे । उनको साथमा केन्द्रिय सदस्य, प्रदेश सांसददेखि जिल्लास्तरका नेताहरु पनि थिए ।
उम्मेदवार देखि नेताहरु आएको देखेपछि सबै स्थानीयहरु एकठाउँमा जम्मा भए । उम्मेदवारलाई नजिकैबाट हेरे । अनि, छप्लाङ टोल विकास संस्थाका अध्यक्ष जीवन बहादुर पुनले भाषण गरे, ‘जुनसुकै पार्टी भएतापनि देशलाई खोक्रोमा नपार्नुहोला, यो देश गरिब भयो, गरिब भयो भन्नुहुन्छ । यो देशमा थुप्रैथुप्रै सरकारी राजस्वहरु हराइराखेको छ । किन हरायो, कहाँ गएर हरायो ?’
१२ वर्ष साउदीमा जोवन बिताएतापनि उनको जीवनको खोलो भने फर्केछ । अहिले उनी मजदुरी गरेर जिविका चलाएका छन् । टोल विकास संस्थाको अध्यक्षको रुपमा विगत ४२ वर्षदेखि टोलको नेतृत्व गरिरहेका छन् । जनतालाई भोट बैंकको रुपमा प्रयोग गरिएकोमा उनको चित्त दुखाई छ ।
टोलको सबैभन्दा समस्या भनेको नै सुकुम्बासी समस्या हो । त्यहाँका ६६ मध्ये ५० जति घरधुरीको लालपूर्जा छैन् । यसअघि पनि नेताहरुले लालपूर्जा दिने भनेर झुक्काएकोमा उनी झोक्किए, ‘यहाँका ६६ घरमा लगभग १५ घरले मात्र लालपूर्जा पाएको र राजस्व तिर्छन् । अरु घरको किन छैन् ? हामीलाई जहिले आश्वासन मात्र दिनुहुन्छ, लालपूर्जा दिन्छु, नापी दर्ता गरिदिन्छु भनेर भन्नुहुन्छ तर अहिलेसम्म भएको छैन् ।’लालपूर्जा नभएकै कारण आफूलाई जिवन धान्न धौधौ भएको दुखेसो उनले कांग्रेसका उम्मेदवारलाई सुनाए ।
‘बैंकमा ऋण माग्न गयो भने लालपूर्जा माग्छन्, लालपूर्जा छैन् । कृषि, बाख्रापालन, भैँसीपालन, गाईपालन गर्न पनि पैसै चाहिन्छ पैसे । बैंकमा जान हामीजस्तालाई १ लाख दिन भन्यो बडो रोएर शाखासन्तान पाँचजनाको सर्जमिन के जाती के जाती भन्नुहुन्छ ? त्यसरकारणले यो देश, गरिबगुरुवा कसरी माथि जान्छ ?’, उनले प्रश्न गरे ।उनले लालपूर्जा मात्र मागेनन्, देश विकास गर्नको लागि आफैलाई परिवर्तन गर्न सुझाव समेत उनले दिए ।
‘म सबैलाई भन्न चाहेँ, यो नेपाललाई स्वर्गल्याण्ड बनाउन छ भने देश परिवर्तन गर्ने सपना नसोच्नुहोस, आफू आफै परिवर्तन हुनुहोस्, आफ परिवर्तन भयो भने देश परिवर्तन हुन्छ । आफू परिवर्तन नभए देश परिवर्तन हुँदैन्’। पुनले थपे, ‘मैलो छप्ल्याङ टोलमा अध्यक्ष भएको ४२ महिना भयो, मैले चार पैसा गोजीमा हालेर, रक्सी पिउन गएँ भने देश विकास हुन्छ ? त्यसकारणले देश परिवर्तन गर्नुभन्दा आफूआफूमा परिवर्तन हुनुप¥यो, म परिवर्तन हुनुप¥यो, देश चलाउने नेता परिवर्तन भए देश परिवर्तन हुन्छ, देशले सुख पाउँछ ।’
समस्या सुनाइसकेपछि आफ्ना समस्या समाधान हुने आशाका साथ उनले कांग्रेसलाई मतदान गर्न स्थानीयलाई आग्रह गरे । ‘नेपाली कांग्रेसले जित्नेछ, जितेपछि गरिब गुरुवाहरुको लालपूर्जा सेतो होइन, रातो आउनेछ, नापी दर्ता भएरै छाड्नेछ’, उनले भने ।
मतदाताको समस्यापछि उम्मेदवार खेमराज पौडेलले उनीहरुलाई रातोपूर्जा दिने आश्वासन दिए । आफू यसअघि सुकुम्बासी आयोगको अध्यक्ष हुँदा सेतो पूर्जा दिएको तर समय सकिएका कारण रातो पूर्जा दिन नसकेको उनले बताए । ‘त्यतिखेर समय कम भयो, यसपटक जिताउनुहोस, तपाईहरुलाई रातैपुर्जा दिलाउँछु’, उनले आश्वासन दिए ।
तीनतीन पटक एउटै व्यक्तिले जित्दा पनि समस्या समाधान हुन नसकेकोमा उनले आश्चर्य लागेको बताए । ‘यसअगाडि जितेका व्यक्तिले एउटा समस्या पनि समाधान गर्न सकेनछन्, चोरले पनि आफ्नो घरवरिपरि चोर्दैन रे, आफ्नो पैतालामा प्वाल पार्न हुँदैन, भन्छन्, यो प्वाल पर्नु हो । त्यति गर्न पनि नसक्ने गफ भने ठुलाठुला लगाउने, घोषणापत्रमा देखाइएका सबै योजना झुटका पुलिन्दा थिए । पाँच वर्षे सरकारले काम गरोस तर जनताको हितमा काम गरोस भन्ने चाहना नेपाली कांग्रेसको छ’, उनले भने । चुनावी अभियानमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको बताएका आरोप लगाएका हुन् ।
पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले यो मुलुकको रक्षा कांग्रेसबाहेक अरुले गर्न नसक्ने जिकिर गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अधिनायकवादी शक्तिलाई परास्त गर्न कांग्रेस तयार रहेको बताएका छन् । कास्की क्षेत्र नं. २ को चुनावी अभियानका लागि आइतबार पोखरा आएका नेता पौडेलले नेपालमा कम्युनिष्ट तानाशाहा बढ्ने खतरा रहेको भन्दै त्यसबाट सतर्क हुनुपर्नेमा जोड दिए ।





