आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बोहोरागाउँका घरघरमा खानेपानी

बोहोरागाउँका घरघरमा खानेपानी


  • ढोरपाटन संबाददाता
  • मंसिर २२ २०७६, आइतबार

बागलुङ, २२ मंसिर – खानेपानीको अभावले खोल्साखोल्सी र टाढाको पधेरा धाउनुपर्ने बाध्यता अब हटेको छ । निसीखोला गाउँपालिका वडा नं. ३ का बासिन्दाले ‘एक घर एक धारा अभियान’ स्वरुप घरघरमै धारा बनाएर खानेपानीको जोहो गरेका छन् । सार्वजनिक धारा अन्त्य गरेर घरघरमै धारा बनाएपछि खानेपानीको बचाउ हुने र सदुपयोग समेत हुने भन्दै यो अभियान चलाइएको हो । स्वच्छ खानेपानीको बिस्तार गरेर पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने तयारी समेत बनाइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । भएका पुराना योजना मर्मत गर्ने र पुननिर्माणको अभियान पनि थालिएको छ । सार्वजनिक धाराको अन्त्य गर्दै मीटर जडान गरेर घरघरमा पानीका धारा लैजाँदा संरक्षण हुने र लगानी खेर नजाने उनले बताए । मध्यपहाडी लोकमार्ग बनेकोले सडक छेउछाउमा बजार बढ्न थालेको छ । बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी छ । देविस्थान, बोहोरागाउँ, निसी र भलकोट लगायतका बजार उन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेष्टुरेन्टमा पहिलो चरणमा यस्ता धारा जडान गरिसकेका छन् । अभियान स्वरुप बोहोरागाउँस्थित झिँवाखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका १ सय ११ घर र स्थानीय बिद्यालयलाई धारा जडान गरिएको हो । सबैको घरमा धारा जडान गरेपछि मासिक ५० रुपैयाँका दरले मर्मत शुल्क संकलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको छ । धेरै पानी प्रयोगकर्ताले १ सय रुपैयाँसम्म तिर्नेछन् । निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियान समेत थालिएको छ । खानेपानी र सरसफाई अभियानका लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले बिशेष पहल र लगानी समेत गरेको हो । यो योजना सफल पार्न नेवाले १९ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै गाउँपालिकाले १ लाख, स्थानीयले ४ लाख नगद र ५ लाख ७१ हजार रुपैयाँको श्रमदान गरेर ३० लाख ५९ हजार रुपैयाँमा आयोजना सम्पन्न भएको हो । यो खानेपानी आयोजना सफल बनाउन नेवाले समुदाय स्तरमा बाल क्लब गठन गरेर सरसफाई सम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामाग्री समेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए । सार्वजनिक धारामा कोलिफर्म मिसिने खतरा थियो । यो विधिबाट पानी बितरण गर्दा ट्यांकीबाटै कोलिफर्ममुक्त बनाएर पठाउने व्यवस्था गरिएको छ । ‘क्लोरिन लगायतको पदार्थ राखेर पानी बग्ने व्यवस्था गरिएकोले शुद्ध पानी खान पाइन्छ’ सिलवालले भने, ‘यसअघि बुंगादोभानमा पनि यस्तै बिधिमार्फत पानी खुवाईसकिएको छ ।’ घरघरमै पानीको धारा जडान गरेपछि स्थानीय खुसी भएका छन् । ‘आफ्नै घरमा चाहेकै बेला पानी आउने भएपछि सार्वजनिक धारामा जाने समस्या हटेको छ’ स्थानीय बिष्णुकुमारी शाहीले भनिन्, ‘कोष बनाएर मर्मत गर्ने योजना पनि बनाएका छौं ।’ बाल क्लबको अगुवाईमा नियमित टोल सफाई र अभिभावकको अगुवाईमा ट्यांकी र मुहान नियमित सफार्यको व्यवस्था समेत गरिएको हो । मध्यपहाडी लोकमार्गको स्तरोन्ततीको कारण निसीखोला गाउँपालिकाको ३० किमी खण्डमा रेष्टुरेन्टहरु धमाधम खुलिरहेका छन् । अन्य व्यवसाय समेत खुल्ने क्रममा रहेकोले निजी धाराले आफ्नो आवस्यकता अनुसारको पानी खर्च गर्न पाउने व्यवस्था हुने पौडेलले बताए । ‘गाउँपालिका भित्रका धेरै टोलमा शुद्ध पानी खुवाउने योजना बनाएर काम समेत थालिएको छ’ पौडेलले भने, ‘चार बर्षभित्र सबै घरमा निजी धारा पु¥याउने लक्ष बनाएर काम गरेका छौं ।’ खानेपानीमा काम गर्ने गैरसरकारी संस्थाहरुलाई भित्राएर यो अभियान संचालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->