पोखरा,१६ पुस – माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ । यस प्रदेशमा एक महिला र एक अन्य (पुरुष) पदमा निर्वाचन हुनेछ ।
राष्ट्रियसभा सदस्यका लागि यस प्रदेशबाट निर्वाचित विन्दादेवी आले र सुरेन्द्रराज पाण्डेको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पहिलोपटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकी एक तिहाईको छ वर्षमा पदावधि सकिने व्यवस्था छ ।
स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष तथा प्रदेससभामा निर्वाचित सदस्यहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रत्यक्षका ३६ र समानुपातिकका २४ गरि ६० प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका एक सय ७० सहित कुल दुई सय ३० जनाले मतदान गर्नेछन् ।
तर, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार भने फरक पर्नेछ । प्रदेससभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।
गण्डकी प्रदेशमा कुल ५ हजार ९ सय ४० मतभार रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार १७ गते मतदाता नामावली प्रकाशन, सोही दिन दाबी विरोध तथा १९ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारले २० गते मनोनयन पत्र दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
२१ गते उम्मेदवारको विरोधमा उजुरी, २२ गते मनोनयनपत्र र उजुरी जाँचबुझ गरि निर्णय, २३ गते उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका आयोगको छ ।
२५ गते अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने र ९ गते मतदान हुने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । मतगणना पनि सोही दिन हुनेछ ।





