बागलुङ, २१ – मध्य पहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डमा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । यो खण्डमा चल्ने सार्वजनिक यातायातका साधनले पक्कि सडक बन्दा समेत कच्चि सडककै भाडा असुलेको भन्दै सर्वसाधारणले गुनासो गरेपछि सोमबार बसेको जिल्ला स्तरीय यातायात व्यवस्थापन समितिको बैठकले भाडादर समायोजन गरेको हो ।
सामायोजन गरिएको नयाँ भाडादर अनुसार बागलुङदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर कच्ची सडकमा जीपका लागि प्रतिकिलोमिटर ७.५० रुपैया र बसका लागि प्रतिकिलोमिटर ६.५० पैसा निर्धारण गरिएको धौलागिरी गण्डकी यातायात प्रा.लि. का इन्चार्ज रामप्रसाद अधिकारीले बताए । उनका अनुसार घोडाबाँधेदेखि बुर्तिबाङ सम्मको पक्कि सडकमा जीपका लागि ६ रुपैयाँ र बसका लागि ५ रुपैयाँ प्रतिकिमी भाडादर कायम गरिएको छ ।
उक्त खण्डमा समेत केही स्थानहरुमा सडक पक्कि बन्न बाँकी रहेको, सडक बिग्रिएको, यातायात व्यवसायीले गरेको लगानी र यात्रुहरुको क्रय शक्तिलाई ध्यानमा राखेर भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । यसअघि गत भदौ २९ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकले लोकमार्गमा गुड्ने सार्वजनिक यातायातका साधनको भाडादर कायम गरेको थियो ।
उक्त सडकमा सञ्चालनमा रहेका सवारी साधनले यो निर्णय हुनुपूर्व जीपले प्रतिकिलोमिटर ८ रुपैयाँ र बसले प्रतिकिलोमिटर ७ रुपैयाँ भाडा असुल्दै आएका थिए । सर्वसाधारणको गुनासोपछि समितिले यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाको संयोजकत्वमा कार्यदल बनाएर भाडामा आएको गुनासो, सडकको अवस्था र यातायात व्यवसायीले गरिरहेको लगानी लगायतका बिषयमा अध्ययन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदनका आधारमानै भाडादर सामायोजन भएको अधिकारीले बताए ।
सोमबारको बैठकले भदौ २९ मा गठन भएको कार्यदललाई जिल्लाका कच्ची सडकहरुमा सञ्चालन भएका सवारी साधनहरुको अस्थायी भाडादर र रुट निर्धारण गर्ने प्रयोजनका लागि अध्ययन गरी अर्को बैठकमा प्रतिवेदन पेस गर्न भनेको छ । कार्यदलको प्रतिवेदन अनुसार जिल्लाका अन्य कच्चि सडकको भाडादर समेत समायोजन गरीने समितिले जनाएको छ । सार्वजनिक यातायातमा हुने लापरवाहीका कारण दुर्घटना बढ्दै गएको भन्दै समितिले क्षमताभन्दा धेरै यात्रु बोक्ने सवाररुी साधनको चेकजाँचलाई समेत थप सशक्त बनाउने निर्णय गरेको छ । समितिले तोकेको भाडादर तत्काल कार्यान्वयन गर्न समितिले निर्देशन समेत दिएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिमा यातायात व्यवसायी तथा सरोकारवाला सदस्य रहने व्यवस्था रहेको छ ।





