पोखरा,२४ पुस – तीन महिना कटेपछि बुधबारदेखि गण्डकी प्रदेशको पाँचौ अधिवेशनको रुपमा हिउँदे अधिवेशन सुरु भयो । यसअघि झैँ अधिवेशनको सुरुमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखको पत्र, प्रमाणीकरण भएका विधेयक पढेर सुनाए ।
अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची राखिएको थियो । यहाँ चारवटा संसदीय दलहरु छन् । समाजवादी पार्टीका हरिशरण आचार्य, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कृष्ण थापा र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठक सम्बोधन गरे ।
तर, यसअघिका बैठकको सम्बोधन र पाँचौ अधिवेशनको बैठकको सम्बोधनमा कुनै तात्विक भिन्नता भने थिएन । समृद्धिको सपनामा एकजुट हुने, प्रदेश गौरवका आयोजना, सत्तारुढ नेकपाको सरकार काण्डैकाण्डमा फसेको आरोप, बजेट खर्च हुन नसकेको जस्ता कुराहरु नेताहरुले यसअघि झैँ दोहो¥याए ।
पछिल्लो समयमा चर्चित गोकर्ण रिसोर्टको कुरा उठाउँदै समाजवादीका सांसद हरिशरण आचार्यले भने, “बालुवाटार काण्ड, एनसेल काण्ड, गोकर्ण रिर्सोट, वाइडवडी, ३३ किलो सुन काण्ड, निर्मला हत्या जस्ता काण्डहरुले भरिएको छ । विगतमा कांग्रेस पार्टी सरकारमा हुँदा, गरेको व्यवहार अहिले कम्युनिष्टले पनि देखासिकी गरे ।”
सत्तापक्षको विरुद्ध प्रतिपक्ष दलले आफ्नो भूमिका गहन गर्न नसकेको उनको तर्क थियो ।
उनको यो आरोपलाई रेकर्डबाट हटाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सभामुखलाई आग्रह गरे । नेता नेपालीले “आफ्नो पार्टी र जिम्मेवार प्रतिपक्षी दलको नेतालाई लाञ्छना लाग्नेगरि जुन आरोप लगाइयो, यसमा मेरो घोर आपत्ति छ, सभामुख महोदय यसलाई रेकर्डबाट हटाइयोस ।”
यस्तै, उनले पनि अधिकांश भनाई दोहो¥याए । राष्ट्रियताको सवालमा नेकपाको सरकार मात्र भन्न नहुने बताए । सवै दल सवै नेपाली एक भएर राष्ट्रियता सवालमा आवाज उठाउनुपर्ने उनले बताए । उनले पनि बालुवाटार, गोकर्ण रिर्सोट जस्ता काण्डमा नेकपा सरकार चुकेको उदाहरण दिदै मिडिया काउन्सिल विधेयकप्रति पनि आपत्ति जनाएका थिए ।
संसदको पहिलो बैठकमा पहिलोपटक बोल्दाखेरि नै संघीयताको विरोध गरेका राष्ट्रिय जनमोर्चाका सांसदका कृष्ण थापाले यसपटक पनि संघीयताकै कारण भ्रष्टाचार र महंगी बढेको आरोप लगाउँदै संघीयता ठिक नभएको तर्क राखे ।
“के संघीयता भ्रष्चारको लागि आएको हो ?” उनले प्रश्न गरे, “संघीयताको लागि सरकारले बजेट खर्च गर्न सक्नुपर्छ । बजेट खर्च गर्न नसके मूलुक कसरी समृद्धितर्फ धकेलिन्छ । योजना, कार्यक्रम र समस्या सभाधान गर्न सरकार बेलैमा जाग्नुप¥यो ।”
नेकपाका तर्फबाट बैठकलाई सम्बोधन गरेका संसदीय दलका नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार ऐन, कानुन, विधी र प्रक्रियामा नै अघि बढिरहेको बताए ।
उनले प्रदेशभित्र रहेका गौरवका योजनाहरु, लिपुलेक, कालापानी सीमानाबारे पनि बोलेका थिए ।
यस्तै, बुधबार नै विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिवेदन सहित सभामा प्रस्तुत गरेका थिए ।





