बागलुङ, २७ पुस – आफ्नै बन्दुक पड्केर मृत्यु भएको भन्ने सूचना निराधार भएको भन्दै मृतकका छोराले गाउँले बिरुद्ध किटानी जाहेरी दिएका छन् । तमानखोला गाउँपालिका वडा नं. १ बुंगादोभानका मृतक ओमबहादुर बुढाका छोरा मेघबहादुरले स्थानीय बिरुद्ध उजुरी दिएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाबहादुर घर्ती, देवबहादुर पुन, लोकबहादुर बुढा, भेषबहादुर बुढा, खड्कीन दमाई, हिमबहादुर नेपाली, प्रेमबुहादुर पुन, पृथ्वीबहादुर घर्ती र फर्सबहादुर बुढा रहेका छन् । उनीहरुलाई अनुसन्धान गर्न बाँकी रहेको प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।
गत बुधवार तमानखोला वडा नं. १ को बुंगादोभानमा बाँदर लगायतको सिकार गर्न गएका बुढामगरको बन्दुकको छर्रा लागेर मृत्यु भएको सूचना आएको थियो । प्रहरीले पनि छर्रा लागेर मृत्यु भएको बताएको थियो । तर मृतकका छोराको जाहेरीपनि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । पक्राउ पर्दा उनीहरुको घरघरबाट लाइसेन्स नभएका भरुवा बन्दुक पनि बरामद गरेको छ । बरामद भएका कुनैपनि हतियारको लाइसेन्स नभएको बताइएको छ । पुस २४ गते स्थानीय १० जना मिलेर बाँदर धपाउने भन्दै बन्दुक बोकेर जंगलतर्फ लागेको उनीहरुले बताएका छन् । बाँदर धपाउने क्रममा मृतक ओमबहादुरको पिठ्युँ, गोलिगाँठा र खुट्टामा गोली लागेको थियो । गम्भिर घाईते भएपछि उनीहरुले उपचारका लागि बागलुङ ल्याएका थिए । धौलागिरी अञ्चल अस्पतालले राती ११ बजे आइपुग्दा बुढामगरलाई मृत घोषण गरेको थियो । मृतकका छोरालाई बाबु भीरबाट लडेर घाईते भएकोले उपचारकालागि ल्याएको भन्दै उनीहरुले खवर गरेका थिए । उक्त खवर पाएर आउँदै गरेका छोरा मेघबहादुरले लडेको प्रकति नदेखेपछि उजुरी दिएका थिए ।
मृतकको पोष्टमार्टम पछि शव परिवारका सदस्यलाई बुझाइएको छ । परिवारले सतगतका गरिसकेका छन् । घटना बारे प्रहरीले आइतवार म्याद थप गरेर अनुसन्धान थालेको छ । प्रहरीले गरेको सर्च अभियानमा ४ थान भरुवा बन्दुक बरामद गरेको छ । ३ वटा नपड्काएको अबस्थामा छन् । अरु बन्दुक नपड्केकोले हत्या गर्ने नियत भने नभएको प्रारम्भिक रुपमा देखिएको भट्टले बताए । नेपालको फौजदारी अपराध संहिताले भने घटना घटाएको अबस्थामा बाहेक अबैध रुपमा हतियार राख्नै नपाउने व्यवस्था गरेको छ । भट्टका अनुसार यसरी अबैध अर्थात लाइसेन्स नलिइकन हतियार राख्दा ५ बर्ष जेल सजाय र ५० हजार जरिबाना लाग्नेछ । उनीहरुले घरेलु रुपमा सिकार खेल्नका लागि ती बन्दुक प्रयोग गरिरहेको समेत बताइएको छ । घटनास्थलबाट प्रहरीले छर्रा र अन्य केही गोली तथा बरुत पनि बरामद गरेको थियो ।





