बागलुङ, ४ माघ – जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका पूर्व शिक्षक १० दिनदेखि सम्पर्कबिहिन छन् । जैमिनी–१ कुश्मीशेराका ८२ बर्षिय प्रद्युम्न आचार्य गत पौष २४ गतेदेखि सम्पर्कबिहिन भएका हुन् । घरबाट पेन्सन बुझ्नका लागि जिल्ला सदरमुकाम बागलुङ बजार आएका आचार्य पेन्सन लिएकै दिनदेखि सम्पर्कबिहिन रहेको परिवारले जनाएको छ । पेन्सन बुझेको दिन सदरमुकामकै रामरेखामा आफन्तकोमा बसेका आचार्य भोलिपल्ट बिहान बागलुङ कुश्मा चल्ने आईचर बस चढेको आचार्यका कान्छा छोरा लक्ष्मण आचार्यले बताए । ‘बागलुङबाट कुश्मा जाने आईचर चडेको देख्नेहरु छन् त्यसपछि कहाँ पुग्नुभो थाहै भएन्’ लक्ष्मणले भने ‘उहाँ यसअघि पुगेका सबै ठाउँहरुमा खोजी गरियो तर देख्ने कोही छैन् ।’
शिक्षासेवी प्रद्युम्न आचार्य लामो समय अध्यापनमा बिताएका व्यक्ति हुन् । गाउँमा रहेर उनले शैक्षिक जागरण ल्याउन योगदान गरेका थिए । ‘बाबाले बागलुङमा रहँदा आफन्तसँग मुक्तिनाथ जाने कुरा पनि गर्नुभएको रहेछ । तर, विभिन्न व्यक्तिसँग बुझ्दा उता गएको जानकारी आएको छैन’, छोरा आचार्यले भने, ‘प्रहरी, आफन्त, ईष्टमित्र सबैतिर खबर भएको छ । अहिलेसम्म कसैलाई पनि जानकारी छैन ।’ लामो समयसम्म सम्पर्कमा नआएपछि परिवार चिन्तामा छ । सामाजिक सञ्जालमार्फत खोजी कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् ।
‘बिरामी पनि हुनुहुन्थो समयमा खाना र औषधि खानुपर्ने कहाँ हुनुहोला पत्तै भएन’ माईला छोरा कासिराम आचभार्यले भने ‘नखोजेको ठाउँ छैन, साथमा माबवाईल नभएकाले समस्या भयो ।’ झण्डै ४० वर्ष शिक्षा सेवामा बिताएका पुराना शिक्षक आचार्यले जैमिनी नगरपालिकाको कुश्मिशेरामा २०१८ सालमा स्कुल खोलेर शिक्षा र चेतनाको विकासमा योगदान पु¥याएका थिए । कृषि, फलफुल एवम् तरकारी खेतीमा समेत उनको प्रेरणा सबैमा छ । माघेसक्रान्तिको बेला आफ्नो बारीमा फलाएको तरुल बजार पु¥याएर डोकोमा बिक्री गर्ने आचार्यलाई गत माघ १ गते धेरैले सम्झिए तर उनी सम्पर्कबिहिन छन् । शिक्षासेवी रहेका कारण उनलाई सबैले त्यस क्षेत्रमा ‘प्रद्युम्न गुरु’ का रुपमा चिन्छन् । परिवारका सदस्यले कसैले भेटे वा देखेमा मोबाइल नम्बर ९८५७६२१९६५ वा ९८५१०९५०३० मा फोन गरी सहयोग गर्न आग्रह गरेका छन् ।





