पोखरा, ९ माघ – गण्डकीबाट राष्ट्रियसभाका दुई पदमा आज निर्वाचन हुँदैछ । यस (गण्डकी) प्रदेशमा राष्ट्रियसभा सदस्यमा दुई पदको लागि निर्वाचन हुँदैछ । यस प्रदेशमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका सदस्य सुरेन्द्रराज पाण्डे र विन्दादेवी रानाको २ वर्षे पदावधि सकिन लागेको हो ।
पहिलो एकतिहाईको पदावधि दुई वर्षको हुने संवैधानिक व्यवस्था बमोजिम उनीहरुको भागमा दुईवर्षे कार्यकालको गोलाप्रथा परेको थियो ।
रिक्त पदको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको छ । अहिलेको चुनावमा विगतको जस्तो एकल संक्रमणीय मत प्रणाली लागु हुँदैन । यसकारण बहुमतीय आधारमा बढि मतभार ल्याउने उम्मेदवार नै विजयी बन्ने निश्चित छ ।
राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्नेछन् । तर, उनीहरुको मतभार भने फरक हुन्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तोकिएको छ ।
यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधीको मतभार तीनहजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ ।
पाँच हजार ९४० मतभारमा बढि ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् ।
यसपटक प्रदेशगत रुपमा प्रत्येक क्लष्टरबाट एक÷एक जनामात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाव जित्नेछन् ।
बहुमतीय प्रक्रियाबाट निर्वाचित हुने भएपछि यहाँ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण पश्चात देशको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जीत सुनिश्चित जस्तै छ ।
यहाँ नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँका भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता, सचिवालय सदस्य समेत रहेका श्रेष्ठ गत ०७४ को प्रतिनिधीसभा निर्वाचनमा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङजाका सूर्यप्रसाद रेग्मी र म्याग्दीका विमला गौचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, यहाँ मतभारको तुलना गर्दा कांग्रेसको हार निश्चितजस्तै छ । अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरि कुल २७० जनाले मतदान गर्न पाउनेछन् ।





