पोखरा,९ माघ – चुनाव एउटा प्रक्रिया थियो, पार्टीगत चुनावमा स्पष्ट दुईतिहाई भएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का उम्मेदवारले जित्ने निश्चित थियो । भयो पनि त्यस्तै, विहीबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गण्डकीका दुवै पद (अन्य र महिला) मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भए । सत्तारुढ दल नेकपाले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेलाई उम्मेदवार बनाएको थियो । कांग्रेसले भने सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको थियो ।
तर, दलीय मतभार भने दुबै दलका उम्मेदवारले पाउन सकेनन् । ६० प्रदेशसभा सदस्यमध्ये गण्डकीमा नेकपाका मात्रै ४० जना छन् । कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका तीन र समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।
तर, महिला पदका उम्मेदवार न्यौपानेले ३९ जना प्रदेशसभाको मत मात्र पाइन् । कांग्रेसकी गौचनले १८ मत पाइन् । राष्ट्रिय जनमोर्चाले उम्मेदवार नउठाएका कारण तीन मत बदर भयो । समाजवादी र कांग्रेसबिच प्रदेश २ मा तालमेल गर्ने औपचारिक निर्णय नै भएको थियो । गण्डकीमा औपचारिक निर्णय नभएतापनि समाजवादीले भने कांग्रेसलाई नै समर्थन गरेको थियो । गौचनले कांग्रेसको १५ र समाजवादीको २ सहित कुल १७ प्रदेशसभाको मतभार पाउनुपर्नेमा एक प्रदेशसभाको मतभार बोनस पाइन् । न्यौपानले आफ्नै पार्टीका सबै प्रदेश सांसदको मत पाइनन् ।
गण्डकीका ८५ स्थानीय तहबाट १७० जना मतदाता थिए । ती मध्ये ८४ जना नेकपाका मात्रै थिए, तर न्यौपानेले ८३ जनाको मात्र मत पाइन् । स्वतन्त्रबाट निर्वाचित भई नेकपा प्रवेश गरेका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्प्ले विष्ट (राजु) अमेरिका भएका कारण मतदानमा आएनन् ।
८१ स्थानीय तहका मतदाता भएको कांग्रेस उम्मेदवार गौचनले चाहिँ ८२ मतदाताको मत पाइन् । कांग्रेसबाट निर्वाचित गोरखाको सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रिता देवकोटा पनि नेपाल बाहिर रहेका कारण मतदानमा आइनन् । महिला पदमा जनमोर्चाको मत बदर भयो । यस प्रदेशमा राप्रपाले बाग्लुङ र म्याग्दीका दुई स्थानीय तहमा उपमेयर जितेको थियो ।
कांग्रेस पनि उस्तै ….
अन्य पदमा तीनजना उम्मेदवार थिए, नेकपा र कांग्रेस बाहेक जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । यो पदमा जनमोर्चाका तीनै प्रदेशसभा सदस्यको मतभार बरालले पाए ।समाजवादीले समर्थन गरेका कांग्रेसका सूर्यप्रसाद रेग्मीले भने १६ प्रदेशसभा सदस्यको मात्रै मत पाए । जबकी समाजवादीका दुई सहित कांग्रेसका १५ गरि उनले पाउनुपर्ने मत १७ थियो । त्यहाँ चोरिएको मत नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठले पाए । ४० जना नेकपाकै प्रदेशसभा सदस्य हुँदा उनले ४१ प्रदेशसभा सदस्यको मत पाए र विजयी बने । यो पदमा प्रदेशसभा सदस्यको मत बदर भएन ।
जनमोर्चाका शंकर बरालले तीन प्रदेशसभा सदस्य र तीन स्थानीय तहका मतदाताको मत पाए । नेकपा र कांग्रेसका उम्मेदवारहरुले स्थानीय तहमा भने समान मत पाए । श्रेष्ठले स्थानीय तहबाट ८३, रेग्मीले ८२ र बरालले तीन मत पाएका थिए ।





