बागलुङ, १० माघ – बागलुङ जिल्लाको बरेङ गाउँपालिका–२, सुदाला निवासी ददिराम शर्माको परिवारले प्रहरी चौकीलाई पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । शर्मा परिवारले जिल्लाको बरेङ गाउँपालिकामा रहेको प्रहरी चौकी सुदाला हुग्दशीरका लागि करिब ५ लाख मूल्य बराबरको ५ रोपनी १ दाम १ आना जग्गा प्रदान गरेका हुन् । नेपाल सरकारको निर्णय अनुसार प्रहरी चौकी नभएका गाउँपालिका केन्द्रहरुमा चौकी स्थापना गरेर नयाँ भवन निर्माण गरिँदैछ । जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिका तथा प्रसिद्ध पर्यटकीय स्थल पञ्चकोटमा नयाँ प्रहरी चौकी स्थापनाको प्रकृया अघि बढेको थियो । ‘भाडामा भवन उपलव्ध गराउने र जग्गा उपलव्ध गराउने पालिकामा चौकी स्थापना गर्ने निर्देशन थियो’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले भने, ‘भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने बरेङ बहिलो गाउँपालिका हो ।’
प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउन नेकपा बरेङ गाउँकमिटिका अध्यक्ष प्रदीप थापाले पहल गरेका थिए । बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा जग्गा धनी शर्माले लालपूर्जा हस्तान्तरण गरेका छन् । ‘सरहरुले माग्नुभएको छ चौकी राख्न जग्गा दिनुप¥यो भनेर प्रदीप बाबु आउनुभयो, मैले जग्गा दिएँ’ शर्माले भने, ‘सबैको सुरक्षा गर्ने चौकी बनोस्।’ जग्गाको लालपुर्जा ग्रहण गर्दै प्रहरी प्रमुख भट्टले तत्काल भवन निर्माण र चौकी स्थापनाका लागि पहल गर्ने बताए । ‘जग्गा पहिलो सर्त हो ,त्यो प्राप्त भएको छ’ भट्टले भन,े ‘भवन निर्माणका लागि अब पहल गर्छाँैं ।’ उनका अनुसार जिल्लामा थप हुने सबै प्रहरी चौकीमा १५/१५ जना प्रहरीको दरबन्दी पनि स्वीकृत भएको छ । जसअन्तर्गत स्थानीय तहसँगको समन्वयमा चारवटै प्रहरी चौकीका लागि जग्गा खोजी गरिएको थियो ।
तीन पालिका र पञ्चकोटका लागि चौकी स्थापनाको प्रस्ताव स्वीकृत भएको भएपनि सञ्चालनको आदेश र जनशक्ति आईनसकेको भट्टले बताए । ‘दरवन्दी स्वीकृत भएको छ तर जनशक्ति आएको छैन्’ उनले भने, ‘स्थानीय सरकारले भवनका लागि जग्गा वा भाडाको घर उपलव्ध गराएमा चौकी स्थापना हुन्छन् ।’





