काठमाडौं, १८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसम्मलाई कारबाहीको सिफारिस गरेको छ ।सीआईबीले उक्त प्रकरणमा राजनीतिक दलका नेताको संलग्नता देखाएको छैन । यस प्रकरणमा सीआईबीले १० महिनासम्म छानबिन गरेको थियो । ‘यसक्रममा एक सय १९ जना दोषी पाइएको छ, कारबाहीका लागि हामीले सिफारिस गरेका छौं’, सीआईबी स्रोतले भन्यो ।बस्न्यात भौतिक सचिव रहँदा बालुवाटार जग्गा व्यक्तिका नाममा गर्न प्रमुख भूमिका खेलेको र व्यापारीहरूको पनि संलग्नता रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । उसले ११९ जनाको नामै किटेर कारबाहीका लागि सिफारिस गरेको हो ।उनीहरूविरुद्ध किर्ते र ठगी अभियोगमा कारबाही सिफारिस गरिएको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीले पूर्वमन्त्री छविराज पन्त, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसम्मको उक्त प्रकरणमा संलग्नता भेटेको हो ।बस्न्यातले भौतिक पूर्वाधार सचिव रहँदा बालुवाटारको जग्गा व्यक्तिको नाममा पुग्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको र त्यसका लागि उनी मुख्य जिम्मेवार भएको प्रतिवेदनको ठहर छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवाससहित एक सय ३४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा लगेर हिनामिना गरेको घटना सार्वजनिक भएपछि सरकारले २८ फागुन ०७५ मा विस्तृत अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।उक्त प्रतिवेदन सीआईबीले गृह मन्त्रालयमा बुझाएको थियो । गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाइएको थियो ।





