आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना प्रभाव

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना प्रभाव

चीनमै रोकिए ८० कामदार


  • ढोरपाटन संबाददाता
  • माघ २२ २०७६, बुधबार

पोखरा,२२ माघ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विश्वव्यापी संकटकाल घोषणा गरिएको नोवेल कोरोना भाइरसको प्रभाव देखिएको छ । त्यहाँका अधिकारीहरु यसलाई सामान्य प्रभाव भन्न रुचाउँछन् । चीन सरकारसँगको ऋण सहयोगमा निर्माणाधीन विमानस्थल भएका कारण यहाँ चिनियाँ कामदारहरु पनि उत्तिकै छन् ।
चीनकै बुहानबाट फैलिएको भाइरस र विमानस्थलमा काम गर्ने कामदारहरु पनि चिनियाँ भएका कारण विमानस्थललाई कत्तिको प्रभाव पारेको छ त ?यस विषयमा विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले जवाफ दिए, ‘सामान्य प्रभाव चाहिँ छ, चीन गएका कामदारहरु फर्किन पाएका छैनन् ।’मुनाकर्मीका अनुसार विमानस्थलका ८० कामदार चीनमा नै रोकिएका छन् । तीमध्ये पुराना कामदार २० जना छन्, भने ६० जनाजति नयाँ कामदार आउन नपाएका हुन् । पुराना ४० कामदारहरु नयाँ वर्ष मनाउन गएका थिए । तीमध्ये २० जना फर्किए भने बाँकी २० जना उतै रोकिएका हुन् ।
‘४० जना गएका मध्ये २० जना रोकिएका छन् । एक्सेस रोडको ढलान, डेकोरेसन फिनिसिङको लागि नयाँ ६०÷६५ जना आउने भनेका थिए । उनीहरु पनि आएका छैनन् । कम्पनीबाट नै हामीले उता उनीहरुलाई चीनमा नै निगरानीमा राख्ने चेकअप गराउने १५ दिनसम्म रोग वा लक्षण नदेखिएमा नेपाल छिर्ने भनेका छौँ’, उनले भने ।
कुनै संक्रमण वा लक्षण नदेखिएर नेपाल आएतापनि पुनः उनीहरुलाई तत्काल काममा नलगाई निगरानीमा नै राख्ने तयारी आयोजनाले गरेको छ । यसको लागि छुट्टै पाँचवटा आइसोलेसन वार्डसमेत परिसरभित्रै खडा गरिएको छ ।गत शनिबार नेपाल फर्केका १० जना कामदारहरु तिनै वार्डमा छन् । उनीहरुलाई अन्य व्यक्तिहरुसँग हेलमेल हुन दिइएको छैन् । मुनाकर्मी भन्छन्, ‘नेपालमा आइसकेपछि हामीले काममा नलगाई पुनः निगरानीमा राख्नेछौँ । त्यसका लागि पाँचवटा छुट्टै कोठाहरु तयार गरेका छौँ । उनीहरुलाई त्यही राख्ने हो । गत शनिबार आएका पनि काममा फर्केका छैनन् । उनीहरु पनि निगरानीमा नै छन् । खाना पनि कोेठामा नै पु¥याइदिने गरेका छौँ । मानिसहरुसँग संसर्ग नहोस भनेर ।’
तर, विमानस्थलमा कार्यरत कामदारहरु चाहिँ कोेरोना उत्पत्ति भएको हुबेई प्रान्तका भने होइनन् । विमानस्थलमा कार्यरत अधिकांशभन्दा बढि कामदारहरु सिन्चुवान प्रान्तका छन् ।
‘तर, हामीले सतकर्ता चाहिँ अपनाएका छौँ । यहाँ ट्रिटमेन्ट हुँदैन, हामीले छुट्टै मात्र राखेका छौँ । काममा लगाउनुअगाडि फेरि एकपटक चेकअप गराउँछौँ । त्यसपछि मात्र काममा लगाउने हो’, उनले भने ।
विमानस्थलमा अहिलेपनि २०० सम्म चिनियाँ कामदारहरु कार्यरत छन् । करिब २५० जना नेपाली कामदारहरु छन् ।
२०२१ को जुलाइबाट अन्तराष्ट्रिय उडान पोखरा बिमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो ।
१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन । अहिलेसम्म ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चार दशकअघि पोखरा–१४, १५ र १८ वडाको तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यस्तै, पुनः सरकारले गत मंसिर ५ गतेमात्र थप १४८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । जुन निर्णयको स्थानीयले आफूहरु पटकपटक विस्थापित हुनुपरेको भन्दै विरोध समेत गरिरहेका छन् ।
यद्यपी अहिले अधिग्रहण गर्न लागिएको जग्गाले हवाई सुरक्षा बढाउने आयोजनाको दाबी छ ।
पोखरा विमानस्थलमा हेल्थ डेस्क
विमानस्थलबाट भित्रिने पर्यटकहरुको चेकजाँचको लागि पोखरा क्षेत्रीय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पर्यटकीय शहर पोखरामा सम्भावित जोखिम न्यूनीकरण गर्न हेल्थ डेस्क स्थापना गरिएको पोखरा विमानस्थल प्रशासनले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सहकार्यमा डेस्क स्थापना गरिएको हो । नेपाल आउने चीनियाँ पर्यटकहरूको प्रमुख गन्तव्यसमेत हो पोखरा । यहाँ आउने पर्यटकहरूलाई लक्षित गरी विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न आवश्यक उपकरणसहित २ जना स्वास्थ्यकर्मी खटाइएको छ ।
ती स्वास्थ्यकर्मीहरुले रुघाखोकी, ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको सामान्य परीक्षण गरी रगतको नमुनासमेत लिनेछन् ।
शंकास्पद देखिएको खण्डमा यही डेस्कले नै उपचारको लागि रिफर गर्ने प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले जानकारी दिए । हेल्थडेस्कमा रगत परिक्षण गर्दा कोरोना भाइरसको शंका लागेमा उक्त रगत र बिरामीलाई काठमाडौं पठाइने उनले बताए । निर्देशनालयले गण्डकी प्रदेशभित्रका सबै स्वास्थ्यसंस्थाहरूमा कोरोना भाइरसको बारेमा स्थानीयलाई जानकारी गराउन पत्राचारसमेत गरिसकेको छ । निर्देशनालयले माक्सको प्रयोग गर्न, अस्पतालमा इमजेन्सी कक्ष तयारी अवस्थामा राख्न पनि मातहतका स्वास्थ्य केन्द्रलाई भनेको छ ।
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण मंगलबार बिहासनसम्म २० हजार ६२३ जनामा देखिएको छ । संक्रमित मध्ये चीनमा ४२५, फिलीपिन्स र हङकङमा एक जनाको ज्यान गएको छ । भाइरसबाट संक्रमित मध्ये ६५३ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।
२७ देशमध्ये चीनमा सर्वा्धिक २० हजार ४३८ संक्रमित देखिएका छन् । जापानमा २०, थाइल्याण्डमा १९, सिंगापुरमा १८, हङकङ र दक्षिण कोरियामा १५÷१५, जर्मनी र अष्ट्रेलियमा १२र१२, अमेरिकामा ११, ताइवानमा १० जनामा यो भाइरसको संक्रमण देखिएको छ ।यस्तै गरी, भियतनाम, मकाउ र मलेसियामा ८÷८, फ्रान्समा ६, युएईमा ५, भारतमा ३ तथा फिलीपिन्स, इटली, युके र रसियामा २÷२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।नेपालसहित श्रीलंका, फिनल्याण्ड, स्वीडेन, कम्बोडिया र स्पेनमा १र१ जनामा मात्रै यसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->