गोरखा, २४ माघ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका साँसद नारायणकाजी श्रेष्ठ (प्रकाश) ले देशै भरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु तुरुन्त बन्द गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी गोरखाले राखेको सम्मान कार्यक्रममा गोरखा आएका नेता श्रेष्ठले गोरखाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । श्रेष्ठले भने, “गृह मन्त्रीको संयोजकत्वमा यसबारेमा अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको निर्देशन अनुसार हुन्छ । सार्वजनिक जमिन अधिग्रहण गरेर निर्माण गरिएका, सार्वजनिक संस्थालाई हानी गर्ने, सरकारी मापदण्ड पूरा नभएका क्रसरहरु बन्द हुन्छन् ।”
गोरखामा सञ्चालनमा रहेका चारवटा क्रसरहरु सबै मापदण्ड विपरित रहेको जिल्ला प्रशासन कार्यलय गोरखाले जानकारी दिएको छ । मापदण्ड विपरित क्रसर सञ्चालन गर्न आफूलाई विभिन्न पार्टीको नेता बताउनेहरुले समेत सहयोग गरेका कारण कारवाही गर्न समस्या परिरहेको प्रशासन बताईरहेका बेला सत्ताधारी दलका नेताले अवैध रुपमा सञ्चालित देशै भरीका क्रसरहरु बन्द गर्ने बताएका हुन् । केही दिन अघि गोरखामा बाटोमा हिडिरहेकी एक महिलालाई ट्रिपरले किचेर मारेको थियो ।
यसैवीच ललिता निवास प्रकरणमा आफ्ना नेतालाई दोषी ठहर गरेको भन्दै विपक्षी दल नेपाली काँग्रेसले सदन अवरोध गरेको विषयलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो ,“ लोकतान्त्रिक पार्टीले के गर्न हुन्छ के गर्न हुँदैन त्यो नेपाली काँग्रेसलाई पनि पक्कै थाहा छ, स्वतन्त्र निकाय अख्तियारले गरेको छानविनलाई सरकार र नेकपालाई जोड्नुको अर्थ छैन, अख्तियार कसैको निर्देशनमा चल्छ भन्ने मलाई लाग्दैन । ”
चर्चाको विषयमा रहेको एमसीसी सदनबाट पास हुन्छ की हुँदैन भन्ने प्रश्नमा उनले भने,“ नेकपा भित्र उक्त विषयको अध्ययन गर्न समिति बनेको छ, उक्त समितिले जे निर्णय दिन्छ त्यही कार्यान्वयन हुन्छ, समितिले देश र जनताको पक्षमा एउटा निर्णय दिन्छ भन्ने पार्टीको ठहर छ । ”
गोरखा जिल्ला पार्टीका अध्यक्ष लेख बहादुर थापा मगरको अध्क्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाकी साँसद भगवती न्यौपाने, नेकपा गण्डकी प्रदेशका अध्यक्ष हीतराज पाण्डे, केन्द्रीय सदस्य रामशरण बस्नेत,जिल्ला इन्चार्ज कृष्ण धिताल, प्रदेश सदस्य सुरेन्द्र भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला पार्टी सचिव प्रेम गुरुङले सञ्चालन गरेका थिए ।





