पोखरा,४ फागुन – उसै त हिमाली भेगमा मौसम कतिबेला के हुन्छ पत्तै हुँदैन । त्यसमाथि मौसमबारे बिना जानकारी यात्रामा निस्किदा के हाल होला ?
एक महिना अघि विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण पदमार्गमा ७ जना बेपत्ता भए । हराउँनेमध्ये ४ जना कोरियाली नागरिक थिए । ३ जना नेपाली ।
बाक्लो हिमपातका कारण उनीहरु अझैसम्म भेटिएका छैनन् । हिमपातमा हराएका ७ को खोजीमा पर्यटन व्यवसायीहरुदेखि ट्रेकिङ एजेन्सिज एसोसियसन (टान)सम्मले खुब खोजी गरे । तर, पनि उनीहरु भेटिएनन् । खोजी कार्य अझैसम्म जारी छ । छोम्रोङ पर्यटन व्यवसायी समितिका अध्यक्ष बुद्धिमान गुरुङका अनुसार हिमाली भेगबारे अनुभवी पथप्रदर्शक नहुँदा दुर्घटनाहरु निम्तिने गर्छन् । पदयात्रामा निस्किएका ७ जना माथि त्यही घटना भयो ।
हिमपहिरोमा परि पदयात्री बेपत्ता बनेपछि बन्द रहेको पदमार्ग खुलेको जानकारी दिन छोम्रोङ पर्यटन व्यवसायीहरुको टोली पोखरामा झरेको थियो । अनिश्चितकालको लागि बन्द रहेको अन्नपूर्ण बेसक्याम्प (एबीसी) ६ दिन अघिदेखि खुलेको छ । त्यही मेसोमा हामीले टोलीलाई समाई हाल्यौ ।
अनुभवी गाइड र मौसमबारे जानकारी नहुँदा उनीहरु हिमपहिरोमा परे । ‘घुम्न आउँने पर्यटकहरुलाई त त्यहाँको मौसमबारे थाहा हुन्न,’ अध्यक्ष गुरुङले भने, ‘कतिबेला कहाँ कस्तो खालको घटना घट्छ भन्ने थाहा हुँदैन । उहाँहरुलाई घुमाउँन लगेको गाइडहरु पनि त्यति जानकार हुँदैनन् । त्यसैले पनि दुर्घटना हुने गर्छ ।’
हिमाली भेगमा घुम्न निस्किदा स्थानीयसंग सल्लाह लिनु जरुरी हुने ठान्छन् उनी । कमसेकम स्थानीयसंग मौसमबारे जानकारी लिँदा दुर्घटनाहरु कम हुनसक्छ । ‘घुम्न निस्किदा स्थानीय व्यवसायीहरुसंग तल झर्दा ठिक हुन्छ कि ? माथि चढ्दा ? मौसमबारे सल्लाह लिनु भयो भने यस्ता खालका दुर्घटनाहरु कम हुन सक्छन्’, उनले भने ।
कपितपय त गाइड÷पोर्टर बिना नै हिमाल घुम्न निस्किने गरेको उनले सुनाए । गाइड नै लिएर आए पनि सक्षम खालको आउँदेनन् । ‘बोल्नमा एक्टिभ छ । तर, त्यहाँको भौगोलिक अवस्थाबारे उनीहरु जुधेको अवसथा छैन’, उनले भने, ‘बाटो त चिन्छ उनीहरुले । तर, हिमपहिरो आई हाले पर्यटकहरुलाई कसरी सेभ गरेर क्रस गराउँने ? कसरी उद्धार गर्ने ? उहाँहरुको कमजोरी छ ।’
ट्रेकिङ एजेन्सीहरुले आफ्नो मान्छे भएकै नाताले अनुभव नभएका गाइडसंग पर्यटक पठाउने गरेकोमा उनको गुनासो छ । ‘हाम्रो अगाडि उहाँहरुले ग्रुप डिलिङ गरि रहँदा हामीले बुझ्छौं’, उनले भने, ‘कतिलाई यस्तो होइन, यसरी जाँदा तपाईं र तपाईंको गेस्टलाई सेभ हुन्छ भनेर सुझाव पनि दिन्छौं ।’
अहिले समय फेरियो । पहिले—पहिले लामो समयसम्म पोर्टरको रुपमा काम गरेर मात्रै पथप्रदर्शक हुन्थे । भुगोल र मौसमबारे जानकारी राख्थे । उनले दुखेसो पोखे,‘अहिले त नयाँ नयाँ युवाहरु आउँछ । नयाँ पिढीहरुले यो बुझ्न जरुरी छ । तपाईंको मिडिया मार्फत यो कुरा पनि भन्न चाहन्छु ।’दुर्घटनाले आफूहरुलाई मात्र घाटा नभई सिंगो राष्ट्रलाई नै घाटा हुने उनी मत राख्छन् ।
तालिम लिएर गाइड
ट्रेकिङ एजेन्सिज एसोसियसन (टान)को काम हो हिमाली भेगमा घुमाउँन सक्षम पथप्रर्दशकको छनौट गर्ने । काठमाडौं र पोखरामा पथप्रदर्शकको लागि तालिम दिने र सर्टिफिकेट दिने गरिन्छ ।
पोखरामा र काठमाडौंमा बसेर सजिलै सर्टिफिकेट लिने गाइडले हिमाल घुमाउँदा दुर्घटा हुने जोमिख हुन्छ । ‘हो, उहाँहरुले बाटो चिन्नुहुन्छ,’ उनले भने, ‘तर, भिषण हिमपात हुँदा हिड्नु राम्रो हो कि होइन ? हिड्नु परेमा पनि कसरी हिड्ने ? गेस्टलाई कसरी सेभ ठाउँमा राख्ने भन्ने कुरा पनि सिक्नु प¥यो ।’
पदयात्री÷पथप्रदर्शकलाई अरु बेला १० दिनमा सकिने ट्रेक हिमपातको बेलामा अलि लामो समय छुट्याउनु पर्ने उनी सुझाव दिन्छन् । हिमपात नहुँदा छिटो समयमा दुरि पार गर्न सके पनि हिमपात हुँदा नसकिने उनले बताए ।
‘अरु बेला १० दिनमा एबीसी घुम्न सकिन्छ भने हिमपात हुँदा सकिन्न’, उनले भने,‘हिमपात भयो भने त रोकिनु पर्छ । खतराबाट बच्नको लागि त वेटिङ गर्नुप¥यो । हिमपात रोकिनु प¥यो, हुस्सु हँटेर मौसम सफा हुनुप¥यो ।’
मौसम सफा भएर हिड्दा हिमपात भए पनि छल्न सकिने उनले बताए । ‘अस्ति भएको पनि त्यही हो’, एक महिना अघि हिमपहिरोमा परि बेपत्ता भएको घटना स्मरण गर्दै उनले भने, ‘उहाँहरुलाई छिटो दुरि पार गर्नुपर्ने थियो । समय पनि थिएन । जसरी पनि जानै पर्छ भन्ने थियो ।’
यो सिजनमा पदयात्रामा निस्किदा समय लम्ब्याएरै आउन पर्ने उनको सुझाव छ । अक्टोबर नोभेम्बरमा कुनै खतरा नभए पनि हिमपातको समयमा पदयात्रामा निस्किदा विशेष सजगता अपनाउँनु पर्ने उनले सुझाव दिए । यसमा ट्रेकिङ कम्पनीदेखि गाइडले पनि सजग रहन पर्ने उनी बताउँछन् ।
‘सूचना दिँदा पनि यो कुरा समेटिनु पर्ने हो । ट्रेकिङ कम्पनीहरुले पनि बुकिङ गर्दा त्यही अनुसारले बुकिङ गर्नुपर्छ’, उनले भने, ‘एक÷दुई दिनको लागि उहाँहरुसंग विकल्प त हुन्छ नि त ।’
पदमार्गमा मौसमबारे जानकारी दिने डिभाइडर नहुँदा पनि समस्या पर्ने गरेको उनले उल्लेख गरे । मौसमबारे पूर्व जानकारी हुँदा दुर्घटना कम हुने उनको राय छ । त्यसको लागि प्रदेश सरकार र स्थानीय सरकारसंग पनि माग गरि रहेको उनले बताए । समितिका सचिव दिलिप गुरुङले हिपहिरोमा बेपत्ता ७ को खोजी कार्यमा स्थानीय पर्यटन व्यवसायीहरु एकताबद्ध भएर जुटिरहेको बताए । बेपत्ता ७ मध्ये केहीका सल, टोपी लगायतका सामान भेटिएको उनले सुनाए ।
हिमपहिरो गएको ठाउँ हिंकु केभ र देउरालीकोबिचमा सानो खोला बग्ने भएकाले पनि उक्त ठाउँमा हिमपहिरोको समस्या बढी हुने गरेको उनले जानकारी दिए । पूर्व सर्तकता अपनाएर पदयात्रामा निस्किदा दुर्घटनाबाट बच्न सकिने उनको भनाई छ । एबीसी पूर्ण रुपमा खुmिसकेको र ढुक्क भएर पदयात्रामा आउँन उनले पर्यटकरुलाई आग्रह समेत गरेका छन् ।





