काठमाडौं,९ फागुन – महाशिवरात्रीका अवसरमा पशुपतिनाथको मन्दिरमा यो वर्ष २० लाख हाराहारी तीर्थालुले दर्शन गरिरहेका छन् । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् । बालाजुबाट पूजा गर्न आएकी जानकी अधिकारीले गत बर्ष भन्दा यस वर्ष लाइन बस्न र पूजा गर्न सजिलो भएको बताइन् । उनले मानिसहरु धेरै भएका कारण बढी समय लाइन बस्नु परेपनि जुत्ता चप्पल ब्यवस्थापन तथा दर्शन गर्ने व्यवस्था राम्रो भएको प्रतिक्रिया दिइन् ।यस्तै रामेछापबाट आएका भीमबहादुर खड्काले पैसा हुनेले गत बर्ष टिकट काटेर मन्दिरको दर्शन गर्ने परम्परा यसवर्ष हटाएको राम्रो लागेको बताए । यसवर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईको अध्यक्षतामा १ सय १० सदस्यीय मूल समारोह समिति बनाइएको थियो । जसअन्र्तगत ११ वटा उपसमिति बनाएर महाशिवरात्रि व्यवस्थापनमा खटिएको पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य ध्रुव उप्रेतीले जानकारी दिए ।
मेला व्यवस्थापनका लागि ७५ वटा संस्था र ५ हजार भन्दा बढी स्वंयसेवकले विहान ३ बजेदेखि काम गरिरहेका छन् । पशुपतिनाथको मन्दिर प्रवेशका लागि ४ लाइन बनाइएको र गत बर्षभन्दा यो वर्ष सजिलोसँग भक्तजनले दर्शन गर्न पाएको उप्रेतीले बताए ।
उनले भने–‘गत वर्ष भन्दा लाइन सहज छ, बिचबाट कोही छि¥यो भन्ने छैन । गत बर्ष जुत्ता चप्पलमा समस्या थियो । यसबर्ष जुन बाटो गएको हो त्यही बाटो यू टर्न लिएर फर्किने व्यवस्था गरेका कारण तीर्थयात्रीलाई सहज भएको छ । अघिल्लो वर्षजस्तो गाह्रो भएको छैन ।’
महाशिवरात्रीलाई व्यवस्थित गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर गरी ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रमा बिहान पर्यटनमन्त्री योगेश भट्टराई तथा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले अनुगमन गरेका थिए । यस्तै नेपाली सेनाको हेलिकप्टबारबाट पशुपति क्षेत्रमा पुष्पबृष्टि गरिएको थियो ।
भारतबाट विभिन्न अखडा तथा सम्रदाय अन्र्तगत रहेका करिब ५ हजार साधु सन्त जोगी पशुपतिनाथको मन्दिरमा रहेको उप्रेतीले बताए । नेपालबाहेक भारत, मलेसिया, इन्डोनेशियादेखि दर्शनार्थी आइपुगेको उनको भनाई छ ।
साधु, सन्त तथा बाबाहरुको व्यवस्थापन पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले गरिरहेको उनले बताए । सोमबार उनीहरुलाई बाटो खर्च दिएर बिदा गरिने उनले बताए ।
रातीको ४ प्रहरमा पूजा, ध्यान, योगको काम
शिवरात्रिको मूख्य समय रातीको चार प्रहर रहेको छ । सो समयलाई जप–तप ध्यान, योग, साधानाको समय भएको उप्रेतीले बताए । आज बेलुका घाम अस्ताएदेखि बिहान घाम नउँदाएसम्मको चार प्रहरको रात्रिकालीन समय महाशिवरात्री भएको र सो समय गरेको धार्मिक कर्मले पूण्य प्राप्ति हुने विश्वास रहेको छ ।
१० लाखले प्रत्यक्ष रुपमा पशुपतिनाथको मन्दिरमा पूजा गर्ने र बाँकी १० लाख तीर्थयात्री पाशुपत क्षेत्रको धार्मिक मेलामा सहभागी हुने उनले बताए । शिवरात्री मेला ३ दिन लाग्ने भएका कारण सुरक्षा ब्यवस्था प्रभावकारी बनाइएको उनको भनाई छ ।
अघिल्लो वर्षभन्दा फरक साजसज्जा
शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अघिल्लो वर्षभन्दा फरक प्रकारले साजसज्जा गरिएको छ । विभिन्न प्रकारका प्राकृतिक फूलको प्रयोगबाट शिवलिंग, महादेवको बाहान साँढे लगाएको आकृति बनाएको छ । प्राकृतिक फूलै फूल प्रयोग गरेर विभिन्न ठाँउमा स्वागतद्धार बनाइएको छ भने पशुपतिनाथको मन्दिरको मूल गेटमा प्राकृतिक फूलबाट गणेशको मूर्ति बनाइएको छ ।
भारतका विभिन्न हिन्दू मन्दिरमा फूलबाट सजावटको काम गर्नेहरुले काम गरिरहेको सञ्चालक समितिका सदस्य उप्रेतीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा भारतीय व्यवसायीको दानबाट सो काम भइरहेको हो । महाशिवरात्री पर्वमा पशुपतिनाथ क्षेत्रभित्र विभिन्न संघ संस्थाको तर्फबाट निःशूल्क खानेपानी, स्वास्थ्य सेवा तथा खानपानको व्यवस्था गरिएको छ ।





