आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाँस्कोटा अडियो प्रकरण : नेकपा सांसद पाठकले दिए स्पष्टिकरण

बाँस्कोटा अडियो प्रकरण : नेकपा सांसद पाठकले दिए स्पष्टिकरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७६, बुधबार

काठमाडौँ,१४ फागुन – निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग अडियो सार्वजनिक भएको बिषयलाई लिएर सांसद तथा प्रतिनिधि सभा सदस्य डा सूर्य पाठकले स्पष्टिकरण दिएका छन् ।  फागुन १२ गते गोकुल बाँस्कोटा भ्रष्टाचार प्रकरणमा नेकपा सांसद पाठक पनि संलग्न ! शिर्षकमा प्रकाशित समाचारप्रति उनले ध्यानआकर्षण भएको जनाउदै विज्ञप्ति जारी गरेका हुन् ।

डा पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’  सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियाका सन्दर्भमा मलाई जोडेर आएको सो समाचारमा कुनै पनि सत्यता नभएको र आफू र त्यो प्रक्रियामा म संलग्न पनि नरहेको स्पष्ट गर्दछु । यदि यो बिषयमा मेरो कसैसँग कुनै प्रकारको संलग्नता भेटिएको प्रमाणित भएमा नैतिक रुपमा जिम्मेवारी लिदै नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।

सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियाको बिषयमा सम्बद्ध अधिकारीहरुसँग प्रश्न सोधेको कुरा सर्वविदितै छ ।  सार्वजनिक लेखा समितिले कुनै कम्पनीको नाम तोकेर निर्णय गर्ने बिषय होइन तसर्थ कहिले जर्मनलाई कहिले फ्रान्सलाई दिन लागे भन्ने आरोप निराधार हो । म आफु कुनै कम्पनीलाई दिनुपर्ने वा नपर्ने भन्ने विषयमा कहीँ कतै लबिङ्ग गरेको कुनै कम्पनीका एजेन्टलाई भेटेको उनीहरुसँग फोन सम्बाद गरेको एउटा पनि प्रमाण भेटिएमा त्यसको सम्पूर्ण रुपमा नैतिक जिम्मेवारी लिन तयार छु ।

त्यसैगरी स्विस कम्पनीको एजेन्ट भनिने विजय प्रकाश मिश्रसँग जापानमा सन् २००६ मा एकपटक भेटेको बाहेक निजसँग यो १४ वर्षमा कहीँ कतै भेट भएको, फोन सम्बाद भएको इमेल म्यासेन्जर तथा अन्य कुनै सम्पर्क माध्यमबाट सम्पर्क भएको छैन । निजलाई सार्वजनिक लेखा समितिको बैठकमा १४ वर्ष पछि बिज्ञको रुपमा देखेको थिएँ । उनको विज्ञता माथि मैले केही प्रश्न उठाएको पनि थिएँ जुन सार्वजनिक लेखा समितिमा रेकर्डेड छ । तसर्थ निज मिश्रसँग कुनै सम्बन्ध सम्पर्क नभएको हुँदा समाचारमा लेखिएको जस्तो सँगै कारोवार हुने प्रश्न नै भएन । यदि यो बिषय कसैले प्रमाणित गरेमा र म झुट बोलेको ठहरिएमा मेरो सांसद पदबाट समेत राजीनामा दिन तयार भएको कुरा जानकारी गराउदछु ।

त्यसैगरी सो समाचारमा लेखेको र निज मिश्रले आरोपित गरे अनुसार आफुसँग जापानको प्रमानेन्ट रेसीडेन्ट (पीआर) नभएको कुरा पनि जानकारी गराउँछु । र यदि यस बिषयमा कसैले छानबिन गर्न चाहन्छ भने त्यसमा मैले पूर्ण रुपमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्छु ।

अन्त्यमा, मेरो बिषयमा चासो चिन्ता र सद्भाव राख्नेहरु प्रति हार्दिक धन्यवाद छ । यस्ता भ्रम पूर्ण समाचारबाट प्रभावित भई मेरो निष्ठा र इमान्दारीता प्रति कुनै शंका नगर्नु हुन सबैप्रति हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->