काठमाडौं, १६ फागुन – निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाले गाली बेइज्जती मुद्दा दर्ता गरेका छन्। आफूविरुद्ध झुट्टा लाञ्छना लगाएको भन्दै उनले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका हुन्। उनले शुक्रबार दिउँसो आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी दिएका छन्। सेक्युरिटी प्रिन्टर खरिद प्रकरणको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका एजेण्ट मनिने विजयप्रकाश मिश्रविरुद्ध उनले उजुरी दिएका हुन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत मुद्दा दायर गरेको बताएका हुन्। ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’ उनले भनेका छन्।
करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रिन्टर खरिदका लागि ७० करोड रुपैयाँ कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट बाँस्कोटाले गत बिहीबार नैतिकताको आधार जनाएर राजीनामा दिएका थिए। गत बुधबार बेलुका उक्त विवादित अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा राजीनामा दिएका थिए।






