बागलुङ,१७ फागुन – बागलुङको पालामा करेण्ट लागेर एक किशोरको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ पालाका १६ बर्षिया स्वदेश थापाको शनिवार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो । बागलुङ नगरपालिका–८ सिगानाको बारीमा आमासँग घाँस काट्नका लागि पुगेका थापाको ११ केभिए प्रसारण लाईनमा प्रवाह भएको बिद्युतले ज्यान लिएको हो । बारी छेउमा रहेको प्रसारण लाईनको पोल अड्याउन लगाईएको तारबाट बिद्युत चुहावट भई खानेपानीको फलामे पाईपमा जोडिएको (स्टे) तारका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ । पोल अड्याउन लगाईएको तारमा कसरी विद्युत प्रवाह भएको थियो भन्ने बिषयमा अनुसन्धान भैरहेको छ । करेण्ट लागेपछि थापा बेहोस भएका थिए । उनलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल ल्याउादै गर्दा बाटोमानै मृत्यु भएको प्रहरी निरिक्षक हेम केसीले बताए । घटनाको बिषयमा जनप्रतिनिधि सहित घटनास्थल पुगेको प्रहरीले अनुसन्धान थालेको छ । ‘अड्याउन लगाईएको तारमा कसरी बिद्युत प्रवाह भयो, यो प्राबिधिक बिषय हो’ केसीले भने ‘चुहावट भएर खानेपानीको पाईपमा पुगेको बिद्युतका कारण दुर्घटना भएको हो ।’





