पर्वत,२७ फागुन – जिल्लाको कुस्मा नगरपालिका–२ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते भएका छन् । खुर्कोट तीनमुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते भएका हुन् । घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो शर्मालाई चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताएका छन् । घाइते शर्माको पर्वत जिल्ला अस्पताल पर्वतमा उपचाररत शर्माको अवस्था भने सामान्य रहेको छ । एक साताअघि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका–३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशुचौपाय मारेपछि सर्वसाधरण त्रसित बनेका छन् । अस्पतालमा रहेका शर्मालाई भेटघाट गरी प्रतिनिधि सभाका सांसद पदम गिरीले घाइतेको निशुःल्क उपचारको ब्यवस्था मिलाउन अस्पताललाई आग्रह गरेका छन् ।





