पोखरा,२८ फागुन – गण्डकीका चारवटै संसदीय दलले प्रदेशसभा गठनको दुई वर्षपछि कार्यालय पाएका छन् । गण्डकीको प्रदेशसभा भवनको संरचना आवश्यकता अनुसारको छैन् । पर्याप्त संरचना नहुँदा पुरानो भवनका कोठाहरुलाई नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय बनाइएको थियो । तीनै कोठाहरुमा यहाँका चारवटा संसदीय समितिका बैठकहरु समेत सञ्चालन हुने गरेका थिए ।
संरचनाको अभाव भएकै कारण प्रदेशसभा सचिवालयले नयाँ १० कोठे प्रिफ्याब भवन निर्माण गरेको छ । जसको बुधबार सभामुख नेत्रानाथ अधिकारीले उद्धाटन गरे । यही भवनलाई अब दलको कार्यालय र समितिको बैठककक्षको रुपमा प्रयोग गरिने सचिवालयले जनाएको छ ।
नेकपा र कांग्रेस सहित राष्ट्रिय जनमोर्चा र समाजवादी पार्टीलाई छुट्टा–छुट्टै कोठा र व्यवस्थित सचिवालय सहितको भवन उपलब्ध गराइएको हो ।
नेकपा र कांग्रेसलाई नयाँ भवनमा कार्यकक्षको व्यवस्थापन मिलाइएको छ भने जनमोर्चालाई नेकपाको पुरानो कार्यकक्ष तथा समाजवादीलाई कांग्रेसको पुरानो कार्यकक्षमा सारिएको छ ।
प्रदेशसभाले १ करोड २६ लाख ४० हजारको लागतमा प्रि–फ्याब भवन निर्माण गरेको हो । भवनमा थप २१ लाख रुपैयाँ खर्च गरेर फर्निचर व्यवस्थापनको काम हुँदैछ ।
गत वर्ष चैत २२ गते सम्झौता भएर असोजमै निर्माण सक्ने भनिएको भवनको ‘पार्टेसन’ र ‘फल्सिलिङ’का काम थपिएका हुन् ।
दुई चरणमा काम गर्नुपर्दा धेरै समय लागेको सभामुख नेत्रनाथ अधिकारीले बताए । अधिकारीले बुधबार भवनको उद्घाटन गरे ।
भवन निर्माणको काम मेत्री कन्स्ट्रक्सन र मनकामना कन्स्ट्रक्सनले गरेका हुन् ।
संसदीय दललाई प्रतिसांसद ३ हजार रुपैयाँ सञ्चालन खर्च
संसदीय दलको लागि भनेर प्रदेशसभाले मासिक एक लाख ८० हजार रुपैयाँ खर्चने भएको छ । प्रदेश मन्त्रिपरिषदको गत असार २५ गतेको निर्णयानुसार अब प्रदेशका चारवटै संसदीय दलका सांसदहरुले प्रतिसांसद मासिक तीन हजार रुपैयाँ दलको सञ्चालन खर्च बापत पाउनेछन् ।
सभामुख नेतृत्वको कार्यव्यवस्था परामर्श समितिले नै संसदीय दलमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यका आधारमा मासिक खर्च उपलब्ध गराउने भएको हो । सदस्य संख्याको आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने भन्ने हो । कार्यव्यवस्था समितिले यो व्यवस्था गर्न खोजेको छ ।
गण्डकीका चारवटा संसदीय दलमा ६० जना प्रदेश सांसद छन् । प्रतिसांसद तीन हजारका दरले मासिक एक लाख ८० हजार रुपैयाँ दलको लागि खर्च हुनेछ ।





