आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बुहारी फिल्मकर्मी

बुहारी फिल्मकर्मी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७६, बिहिबार

पोखरा,२९ फागुन – बालकाशी गुरुङ पहिलो पटक ९ कक्षा पढ्दा बजार झरिन् । हो, लमजुङको क्होलासोथर गाउँपालिका ७ कुलुङमा जन्मिएकी बालकाशीलाई सहर कस्तो हुन्छ ? ९ कक्षा पढ्नु अघिसम्म थाहै थिएन ।
त्यो समय । गाउँमा टेलिभिजन त झन कहाँ पाएर हेर्नु ? उनै बालकाशी, जो नेपाली रजतपटमा उदाउँदै गरेकी नवप्रतिभा हुन् । गुरुङ र नेपाली गरि जम्माजम्मी ६ फिल्ममा काम गरि सकेकी बालकाशीले २५ को हाराहारीमा म्युजिक भिडियोमा निर्देशन समेत गरेकी छिन् ।
थुप्रो म्युजिक भिडियोमा पोस्ट प्रोडक्सनको काम गरेकी बालकाशी, छिट्टै फिल्म निर्देशन गर्ने तयारीमा पनि छिन् । बच्चाबेला सहर देख्न नपाएकी बालकाशीलाई अहिले पोस्ट प्रोडक्सनको काममा भ्याईं÷नभ्याईं छ । लमजुङ जन्मघर भएकी बालकाशीले कास्कीको ताङतिङमा घरबार जोडिन् । अहिले पोखरा महानगरपालिका १३ माटेपानीमा बस्दै आएकी बालकाशी, सुटिङको उपक्रममा कहिले कता, कहिले कता कुँदी रहन्छिन् । ‘भर्खर छोम्रोङ गएर आएको, गोडा दुखी राको छ,’ लामो श्वास फर्दै उनले भनिन् ।

बालकाशीका दुई छोरा पनि छन् । तर, सोह्र वर्षे उमेरमा जस्तो जोश हटेको छैन । बिहान कलेज, घरपरिवार र आफ्नो कामलाई निरन्तरता दिई रहेकी बालकाशीलाई केही गर्न सक्छु भन्ने विश्वास छ । विश्वास पुरा गर्ने हुटहुँटी पनि । ‘सजिलो त आफूले बनाए सजिलो सजिलो हुँदो रै छ,’ मन्द मुस्कुराउँदै उनले भनिन् ।
०६२ मा प्लस टु पढ्न लमजुङदेखि पोखरा झरेकी थिइन, बालकाशी । कालिका क्याम्पसमा इन्टर पढ्दै गर्दा गुरुङ फिल्म निर्देशक भोजबहादुरसँग भेट भयो । उनैले ‘आक्रोदो’ नामको गुरुङ फिल्ममा अफर गरें । जुन फिल्म उनको डेब्यु फिल्म हो । ‘त्यसपछि मेरो फिल्मी यात्रा सुरु भएको हो,’ उनले भनिन्, ‘उहाँसंगको भेटपछि नै मेरो फिल्मी यात्रा सुरु भयो भनौं न ।’
सानैदेखि नाँचगानमा रुँचि थियो । खेलमा पनि उत्तिकै चासो राख्थिन् । स्टेज पाए गाई हाल्ने, बोलि हाल्ने, नाँचि हाल्ने गर्थिन् । कसैसँग लजाउँने स्वभाव थिएन उनको, उनले बाल्यकाल सझिन् ।

नाँच्न, गाउँन रुँचि त थियो । तर, अभिनय ?
अभिनय त उनी जान्दिन थिइन । ‘अभिनय त ‘क’ पनि जानेको थिइन । अहिले पनि आफैंले बनाएको चलचित्रमा खालि ठाउँ भर्ने काम भई राको छ । केही पनि नजानेको सुरुमै फिल्म गर्दा गाह्रो त गाह्रो नै भएको थियो,’ ठट्टा गर्दै उनले बिगत सभ्झिइन् । ९ कक्षा पढ्दा पहिलो चोटी टिभी हेर्न पाएकी बालकाशीले अभिनय नजान्नु स्वभाविक पनि थियो ।
अभिनय के हो थाहै नपाएकी बालकाशीलाई अग्रज कलाकारको सपोर्टले काम गर्न त्यति गाह्रो भएन । ‘एकदमै को–अप्रेट हुनुहुन्थ्यो सबै । पहिलो फिल्ममा काम गर्न सजिलो भयो,’ उनले बिगत सम्झिइन् । लमजुङको स्युरुङ भन्ने विकट गाउँमा सुटिङ भएको थियो उनको पहिलो फिल्म ।
यसरी, हौसला दिएर अघि बढ्न प्रेरणा दिने अरु कोही थिएनन् । उनकै काका खेमले नै निर्देशक भोजबहादुर गुरुङसँग चिनापर्चि गराई दिएका थिए । ‘तिमी फोटो जेनिक छौं । गर्न सक्छौं भनेर काकाले हौसला दिनु भयो, भोज जि संग चिनजान गराउँनु भयो,’ उनले भनिन्, ‘यसरी मेरो फिल्मी करिअर सुरु भयो ।’
फिल्ममा काम गर्दै जाँदा पोस्ट प्रोडक्सनमा पनि रुचि बढ्यो उनको । फिल्म सुट भई रहेको बेलामा फिल्म कसरी खिचि रहेको छ ? क्यामेराम्यानको नजिकै गएर हेर्निन् । क्यामेरा कसरी चलाउँछन् ? त्यो अभ्यास पनि गर्थिन् । र, त अभियनयसंगै पोस्ट् प्रोडक्सनमा पनि पोख्त बनिन् ।

गुरुङ र नेपाली सहित ६ वटा फिल्ममा अभिनय गरेकी बालकाशी पहिलो फिल्म गर्दा अविवाहित नै थिइन् । विवाहपछि पाइला चाल्न बालकाशी नडराएकी पनि होइनन् । विवाहपछि अब घरभित्रै सिमित हुनुपर्ला भनेर डराएकी पनि थिइन । तर, विवाह अघि र पछिका आरोह÷अवरोह पार गर्दै यो स्थानसम्म आई पुगेकी बालकाशीलाइ परिवारको साथ पनि उत्तिकै मिल्यो । ‘भोज ति पनि विवाह लगत्तै काठमाडौं जानु भयो । विवाहपछि डर पनि लाग्यो । तर, मैले त्यो डरलाई म भित्र कायम रहन दिइन,’ उनले अघि सम्झिइन्, ‘बाबुआमा जत्तिको माया गर्ने सासुससुरा पाएँ । तिमी गर्न सक्छौं है ! भनेर हौसला दिनु भयो सासुससुराले पनि । त्यसबाट मैले आत्मबल पाएँ । छोरी सरहकै माया पाएँ ।’
विवाह गरेपछि घर भित्रैको चुलोचौकोमा सिमित रहन परेन उनलाई । केही गर्न सक्दिन जस्तो लागेको पनि थियो । तर, घरपरिवारको सर्पोटले नै उनको यात्रा टुंगिएन । ‘अवसर आफैं खोज्नुपर्छ । त्यसै पाइन्न । संघर्षसंग कहिले पनि डराउनुहुन्न,’ उनी भन्छिन्, ‘विवाह भएपछि आफूलाई कमजोर ठान्नु हुन्न । आफूले आफैंलाई पावरफूल ठाने सबैको सहयोग मिल्छ ।’
गुरुङ भाषाको फिल्मलाई अब्बल बनाउँन अझै मेहेनत गर्नुपर्ने बताउँने बालकाशी नेपाली र गुरुङ दुवै भाषाका फिल्म निर्देशन गर्ने इच्छा रहेको बताउँछिन् । त्यसको लागि आवश्यक तयारी पनि उनले गरि रहेकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->