पर्वत,२९ फागुन – सडक फराकिलो र स्तरउन्नतीको काम भैरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड चैत्र १ गते शनिबार देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।सडक बिस्तारको क्रममा बिष्फोटन गर्नुपर्ने भएकाले कुस्माबजारको खरेहा फलामखानी देखि चुवाको चाईनाचोक सम्म दैनि तीन घण्टा घण्टा बन्द गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको बैठकले मध्यान्न साढे १२ बजे देखि साँझ साढे ३ बजे सम्म सडक बन्द गर्ने निर्णय गरेको छ । लोकमार्गको पर्वत खण्डमा पर्ने चुवाको बाघदुला भीरमा बिष्फोटन गर्नका लागि मध्यपहाडी लोकमार्ग कार्यालयले सडक बन्द गर्न माग गरेका कारण सर्बपक्षीय बैठकले सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन ।
बम बिष्फोट हरेक दिन नहुने र बिष्फोटनका लागि ड्रिल गर्ने(प्वाल बनाउने) क्रममा भने केही बेर सडक बन्द गरेर सडक खुल्ने निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिका इन्जिनियर बिबेक रेग्मीले जानकारी दिए ।





