पोखरा, ८ चैत – कास्कीका निजी विद्यालयहरुले नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेका छन् । सरकारले चैत मसान्तसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको दुई दिनपछि बल्ल निजी विद्यालयहरुले शैक्षिक कार्यक्रम रोक्ने घोषणा गरेका हुन् ।
कोरोना भाइरस ( कोभिड–९) को संन्त्रासकै बीच पनि निजी विद्यालयहरुले विद्यार्थी भर्ना अभियान तथा नजिजा प्रकाशनजस्ता कार्यक्रम जारी राख्दै चैत महिनाको शुल्क बुझाउन अभिभावकहरुलाई ताकेता गरेका थिए । संस्थागत विद्यालयको तर्फबाट युनिप्स नेपाल, नेसनल प्याब्सान र प्याब्सानले शुक्रबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म सबै शैक्षिक कार्यक्रम बन्द गर्न आवद्ध शैक्षिक संस्थाहरुलाई आग्रह गरिएको छ । परीक्षाफल भने तयार पारेर राखिने विज्ञप्तिमा जनाइएको छ ।





