आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका युवाले वुहानबाट फोन गरेर भने, ‘हामी भोकै छौ’

बागलुङका युवाले वुहानबाट फोन गरेर भने, ‘हामी भोकै छौ’

चीनको वुहानमा गलकोट र ताराखोलाका ९ जना युवा रहेका छन ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७६, आइतबार

बागलुङ, ९ चैत – कोरोना भाइरसले ग्रस्त चीनको वुहानबाट ९ जना नेपालीले आँफू भोकभोकै बस्नु परेको बताएका छन् । उनीहरुले इमेल र भाइवरबाट जिल्लामा कुरा गरेर सूचना पठाएका हुन् । गत माघबाटै कोरोनाको प्रकोप बढेपछि चीन सरकारले वुहान सहर लकडाउन गरेको थियो । लकडाउन भएपछि उनीहरु काम गर्न नपाएर कोठामा थन्केका थिए । दुई महिनादेखि कोठामा बस्नुपर्दा खान नपाउने अबस्थामा बसेको बताए ।
घरबाट पठाएको पैसाले केही समय खाएको भन्दै उनीहरुले अझै भोकभोकै बस्नुपरेको गुनासो गरे । ‘पैसा भए किनेर खान पाइन्छ, नत्र भोकै बस्नुपर्छ’ ताराखोला गाउँपालिका वडा नं. ४ का रमेश थापाले गुनासो गर्दै भने, ‘खर्च सकिएर आत्तिएका छौं, कहिलेकाँही आलु उसिनेर खाएर बाँचेका छौं ।’ उनले पहिलो पटक जिल्लाका नेताहरुलाई खबर गरेपनि वास्ता नभएपछि ताराखोला गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गरेको बताए ।
गाउँपालिकाले भने उनीहरुलाई सहयोग गर्ने भएको छ। ताराखोला गाउँपालिकाले चीनको बुहानामा रहेका ९ जना बागलुङका युवालाई ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको अध्यक्ष प्रकाश घर्तीले बताए। थापासहित गलकोट नगरपालिका वडा नं. ५ र ६ का अन्य युवा पनि बुहानमा छन् । थापा सहित गलकोट नगरपालिका ६ का गोबिन्द खत्री, सम्मर खत्री र चित्र घर्ती छन् । वडा नं. ५ का मिथुन थापा र टोपबहादुर थापा छन् । अर्का एक कार्की थरका एक युवा सहित ९ जना छन् ।
एउटै कम्पनीको फरक फरक होटलमा काम गर्ने भएकोले दुई महिनादेखि उनीहरुबीच पनि भेट भएको छैन । फोनमा उनीहरुले कुरा गरेर सम्पर्कमा बसेका छन् । संक्रमणले उनीहरुलाई च्यापेको थिएन । त्यसैले अस्पताल जानु परेन । तर घरभित्रै बसिरहने, काममा जान नपाउने समस्याले पैसा समेत नभई खान नपाएका हुन् । घरपरिवारले केही समयअघि पठाईदिएको पैसा सुरक्षाकर्मीमार्फत झिकाएर घरछेउमा रहेका पसलबाट किनेर खाएको समेत उनीहरुले बताए ।
चार बर्षअघि एक भारतीय होटलमा काम गर्न गएका ती युवाहरु सुरुमा नेपाल आउन भने खोजेका थिए । नेपाल सरकारले पठाएको जहाजमा आउन खोजेपनि उनीहरुको साथमा राहदानी नभई, होटल मालिकले राखेकोले निस्कन नपाएको बताए । ‘त्यतिबेला पनि सहजै निस्कन सकिने अबस्था थिएन, तर भनसुन हुन्थ्योहोला’ थापाले भने, ‘पछि राहदानी हात परेको छ, अहिले यहाँ संक्रमण घटेर गएको छ, त्यसैले फर्कनेभन्दा बजार खुलुन्जेल खानको मात्रै समस्या भयो ।’
दुई महिनासम्म कोठाबाट बाहिर निस्कन नपाएका उनीहरु अहिले घरको कम्पाउण्डमा मात्र निस्कन पाएका छन् । अझै केही संक्रमणको आशंका बाँकी रहेको, एकदुइजना अझै भेटिने र केही मर्नेको संख्या समेत रहेकोले गेटबाट बाहिर निस्कन नपाएको उनीहरुले बताए । थापाका अनुसार, चीनको आधिकारिक संचारमाध्यमले १ सय १६ बिरामी बाँकी रहेको जनाएको उनले बताए ।
संक्रमण लागेको एक महिनासम्म सरकारी सुरक्षाकर्मीले हरेक कोठामा बस्नेलाई सागपात र चामल ल्याएर दिने गरेको समेत उनले बताए । सुरुमा गरेको रेस्पोन्सले बाहिर निस्कन नपाउन्जेल दिन्छ होला भन्ठानेपनि अहिले सहयोग पाउन छाडेपछि उनीहरु भोकभोकै परेका हुन् । होटल मालिकले कोरोना प्रकोप अन्त्य भएपछि फेरी होटल संचालन गर्ने भनेकोले काम गर्नका लागि नफर्कने भन्दै कामकै तयारीमा छन् । भारतीय मुलको होटल भएकोले बुहानामा काम गर्ने नेपाली, भारतीय, पाकिस्तानी र अफ्रिकाबासीले भारतीय खाना रुचाउने गरेकोले होटल राम्रो चल्ने गरेको समेत थापाले बताए । गाउँपालिकाले दिने राहत समयमा पाउन सकेमा केही समय सजिलै खान पाउने आसा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->