बागलुङ, १२ चैत – चौतर्फी विरोध भएपछि कोरोना संक्रमणले समस्या बढाएकै बेला बन्द भएको बागलुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मंगलवार रातीबाट खुलेको छ । मंगलवार दिउसो हस्तलिखित सूचना अस्पतालको गेटमा टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको छ । कोरोना भाइरस परीक्षण लगायतका सामाग्री नभएकोले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामाग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकोले वन्द गर्न बाध्य भएको वताएका थिए । उनले सरकारी अस्पतालमा सामाग्री र बीमाको कार्यक्रम हुने तर प्राइभेटमा नहुने भएकोले डाक्टर तथा कर्मचारीले काम गर्न नमानेको ढोरपाटनसंगको कुराकानीमा बताएका थिए ।
सो सञ्चार सामाग्री ढोरपाटन अनलाइनमार्फत सार्वजानिक भएपछि संकटको वेला अस्पताल वन्द गर्ने भन्दै चौतर्फी विरोध भएको थियो । सर्वसाधारणले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका थिए भने नगरप्रमुख जनकराज पौडेलले त वन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गर्ने वताएका थिए । नगरप्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मंगलवार रातीबाट अस्पताल खुलेको सूचना ब्यवस्थापनले आफ्नै सूचना पाटीमा टाँस गरेको छ । तर सूचनामा अध्यक्ष र अस्पतालका स्वास्थ्यकर्मीले सुरक्षा र सामानको अभावमा वन्द गरिएको दिउसो भनेको कुरालाई भने लुकाइएको छ ।
वन्दपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यस्तो अवस्थामा अस्पताल बन्द गर्नु राम्रो नभएको बताएका थिए । उनले निजी अस्पतालको दर्ता र कारवाहीको प्रकृया स्थानीय तहमा गएकोले खोल्न सुझाव दिएका थिए । ‘यस्तो बेलामा आकस्मिक सेवा मात्रै दिएको भएपनि राम्रो हुन्थ्यो, उनले भने ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वर्तमान अवस्थामा कुनै जानकारीबिना गेटमा सूचना टाँसेर अस्पताल बन्द गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण काम भएको बताएका थिए । उनीहरुले किन अस्पताल बन्द गरेका हुन् स्पष्टीकरण सोधेर तत्काल कारवाही प्रकृया अगाडि बढाउने बताए थिए।
अस्पतालमा आउने सबै प्रकारका बिरामीको उपचार दिनुपर्ने बेला बन्द गर्ने काम मानवीयता बिरुद्धको भएको भन्दै जिल्लाभर नै विरोध भएको थियो । सर्वसाधारणले समेत अस्पताल बन्द गरेकोमा विरोध जनाएका थिए ।
संकटकाल र देशमा अन्य समस्या आएको बेला तथा बन्द र हडताल भएपनि अस्पताल तथा अत्यावस्यक सेवा बन्द गर्न नहुने प्रावधान छ । आन्दोलनकारीले पनि अस्पतालमा सेवा प्रवाहमा असर गर्ने गरी केही गर्दैनन् । त्यसैले अस्पताललाई बिद्रोही पक्ष भएका स्थानमा समेत संरक्षण गर्ने चलन छ ।





