बागलुङ, १३ चैत – मुलुकमा लकडाउन घोषणा भएकै दिन उनलाई ज्वरो आयो । भारतको पटनाबाट आएका बागलुङका एक युवालाई कोरोना भाइरस लाग्दा देखिने लक्षण देखिएपछि आँफै अस्पतालको सम्पर्कमा आए । हुनत उनी दुई दिन अगाडि पनि अस्पताल आएर गएका थिए ।
स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार गराएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाए । परीक्षणको रिजल्ट कुर्न तीन दिन लाग्यो । तीन दिन सम्म उनलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखियो । आइसोलेसन वार्डमा राखेपनि उनमा कोरोना भाइरस संक्रमण भएको भए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी समेत जोखिममा पर्न सक्ने शंका गरिएको थियो ।

बिहिवार दिउसो मात्र उनको नेगेटिभ रिपोर्ट आयो । त्यसपछि अस्पतालका सबै स्वास्थ्यकर्मी र उपचारमा संलग्नहरु ढुक्क भए । काठमाण्डौको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनको नेगेटिभ रिर्पोट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
‘आइसोलेसनमा राखेर तीन दिनदेखि उपचार गराउँदा उनको बिमार कम भैरहको थियो’ पोखरेलले भने, ‘नेगेटिभ आउनेमा ढुक्क त थियौं, रिपोर्टआएपछि मात्र हामी ढुक्क भएका छौंं ।’ नेगेटिभ आएकोले बिहिवारै उनलाई डिस्चार्ज गरेर घरमा पठाइने उनले बताए । तर घरगएपनि ती युवालाई अरु एकसाता सम्म होम क्वारेन्टाइनमै बस्न सुझाव दिएको उनले बताए ।
लक्षण सहित आएका बिरामीलाई तत्काल आइसोलेशनमा राख्ने र आवश्यक जाँच अघि बढाउने काम अस्पतालले गर्दछ । उनी अस्पताल भर्ना भएपछि जिल्लामा सन्त्रास फैलिएको थियो तर रिपोर्ट नेगेटिभ आएपछि सवैमा त्रास हटेको छ । उनको रिपोर्ट ढिला गरि प्राप्त भएको हो । वुधवार अर्काे युवतीको स्वाब परिक्षणका लागि पठाइएको छ । ती युवती भने आफ्नै घरमा क्वारेन्टाइनमा छिन् ।





