बागलुङ, १४ चैत – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० को रोकथामका मुलुक नै लकडाउन भएको चौथो दिन यहाँको स्थानीय सरकार बागलुङ नगरपालिकाले वेसाहरा नागरिकलाई दिवा खानाको ब्यवस्था गर्न लागेको छ । नगर प्रमुख जनकराज पौडेले शुक्रवार अपिल जारी गर्दै लकडाउनका कारण रोजीरोटी गुमेर हात मुख जोर्न समस्या भएकाहरुलाई शनिवारदेखि दिवा खाना खुवाउने ब्यवस्था मिलाएको वताएका छन् । तिरुपती बालाजीधाम शालिग्राम संग्राहलयको ब्यवस्थापनमा धौलागिरी क्याम्पसको प्रांगणमा शनिवारदेखि हात मुख जोर्न समस्या भएका गरिब र अति बिपन्न ब्यक्तिलाई दिवा खाना खुवाइने छ । नगरपालिकाले घनावस्ती भएको बजारमा किटाणु मार्ने औषधी छर्किने ब्यवस्था पनि मिलाएको छ ।
मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकाहरुलाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत संकलनको काम अगाडि बढाउने र त्यसैका आधारमा राहतको ब्यवस्था गर्ने तयारी गरेको समेत नगर प्रमुख पोडेलले जानकारी दिए। नगरपालिकाले कोरोना रोकथामका लागि रु.१५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । कोषमा सहयोग गर्न नगरपालिकाले सवैलाई अनुरोध गरेको छ । जिल्लामा यस अगाडि हातमुख जोर्न कठिन भएका नागरिकलाई काँठेखोला गाउपालिकाले खाद्यान्न राहत वितरण गरिसकेको छ ।
नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोवल सहित काम गर्न अनुरोध गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको अभियानमा सवैलाई साथ दिन भनेको छ ।





