बागलुङ, १५ चैत – लकडाउनका कारण दैनिक रोजीरोटी गुमाएका मजदुर र विपन्नलाई दिवा खाना खुवाउन सुरु गरेको बागलुङ नगरपालिकाले पहिलो दिन १ सय २८ जनालाई खाना दिएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले देशभर लक डाउन गरेपछि बागलुङ बजारभित्र दैनिक रोजीरोटी गुमाएकालाई शनिबारदेखि नगरपालिकाले दिवा खाना खुवाउन सुरु गरेको हो।
पहिलो दिन नै १ सय २८ जनालाई खानाको ब्यवस्था गरिएको नगरपालिकाका कर्मचारी ऋषिराम गोतामेले वताए । ६८ जना मजदुर र विपन्नले धौलागिरी क्याम्पसको प्रांगणमा नै आएर खाना खाए भने विभिन्न ठाउँमा मजदुरी गर्दै अलपत्र परेका
२० जनालाई उनीहरु रहेको ठाउँमा नै पठाईयो । तयार गरिएको खाना ४० सेट मानव सेवा आश्रममा समेत पठाएको गोतामेले बताए ।
बानपा-४ कुडुँले स्थित शालिग्राम संग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा नगरपालिकाले दिवा खानाको ब्यवस्था मिलाएको थियो । नगरपालिकाले खाद्य सामाग्री उपलब्ध गराएको थियो भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर बितरण गरेको थियो ।
देश लक डाउनका कारण रोजीरोटी गुमेर बिहान बेलुका हात मुख जोर्न समस्या भएकालाई दिवा खाना खुवाइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘यतिबेला सिंगो विश्व संकटमा छ, जसको मार हामीले पनि भोगिरहेका छौँ,’ नगरप्रमुख पौडेलले भने,‘ यस संकटमा नगर क्षेत्रमा रहेका कुनै पनि नागरिक भोकै बस्न नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ, यो लक डाउन अवधिभर सञ्चालन गरिनेछ ।’






