
तस्विर : कालीगण्डकी नदीमा वेपत्ता भएको घटनास्थल
म्याग्दी, १८ चैत – बेनी नगरपालिका -१ सिमस्थित कालीगण्डकी नदीमा माछा मार्ने क्रममा मंगलबार एक व्यक्ति वेपत्ता भएका छन्। मंगला गाउँपालिका-३ बरंजाका ४४ वर्षीय रामप्रसाद शेरचन कालीगण्डकीमा बगेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शेरचनसँगै माछा मार्न गएका धवलागिरी गाउँपालिका-२ का हिमबहादुर पाइजाले खोलाले बगाएको जानकारी गराएपछि आफन्त र प्रहरी टोली खोजीमा जुटेका छन् । दुईजना खोलाको वारी र पारी भएर माछा मार्नका लागि नदी तर्ने क्रममा कम्मरमा बाँधेको डोरी फुत्किएर शेरचन वेपत्ता भएका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । वेपत्ता शेरचनको खोजी र अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ । शेरचन बेनीको थकाली सेवा समितिको कर्मचारी थिए ।





